
धादिङ– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले सुरु गरेको ‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ बाट पत्रकार शंकर श्रेष्ठ पुरस्कृत भएका छन् ।
२८ औं विश्व आदिवासी दिवस र २३औं फोनिज स्थापना दिवसको अवसरमा नगद र सम्मान पत्रसहित श्रेष्ठ पुरस्कृत भएका हुन् । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, फोनिज धादिङ धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, नेपाल आदिवासी जनजाति समन्वय परिषद धादिङका पूर्व अध्यक्ष हरिशंकर गिदेललगायतले सामुहिक रुपमा पुरस्कार हस्तान्तरण गरे ।
फोनिज वागमती प्रदेश समितिका कोषाध्यक्षसमेत रहेका श्रेष्ठ नागरिक दैनिक र पाविल साप्ताहिकमा कार्यरत छन् । विगत १३ वर्षदेखि विभिन्न सञ्चार माध्यममा आवद्ध भई पत्रकारिता मार्फत आदिवासी जनजाति समुदायको सवाललाई सशक्त बनाउन श्रेष्ठले खेलेको योगदानको प्रशंसा गर्दै पुरस्कृत गरिएको फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले बताए ।

अक्षर, आवाज, दृश्य तथा पत्रकारितामा श्रेष्ठबाट अभिव्यक्त दृष्टिकोणले धादिङ र समग्र देशकै समस्त आदिवासी भूमिपुत्रहरुको आवश्यकता उजागर हुँदै आएको समम्मानपत्रमा उल्लेख छ । यसैगरि फोनिज धादिङका संस्थापक अध्यक्ष ठाकुर गुरुङलाई फोनिजले सम्मान गरेको छ । जिल्लामा फोनिज स्थापना गरि जनजाति पत्रकारहरु संगठित गराउन खेलेको महत्वपूर्ण भुमिकाको सम्मान र जनप्रतिनिधिमा निर्वाचित भएकोमा बधाई दिंदै सम्मान गरिएको हो । सम्मानित भएका गुरुङ २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

दिवशकै अवसर पारेर नेपाल पत्रकार महासंघलाई पनि फोनिज धादिङले सम्मान गरेको छ । फोनिजमा आवद्ध पत्रकारहरुको हकहित संरक्षण र क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको भन्दै पत्रकार महासंघलाई पनि संस्थागत रुपमा सम्मान गरेको हो ।