Tue. Dec 3rd, 2024

बन्चरेडाँडामा फोहोर फाल्न नदिने ३ दलको घोषणा

धादिङ– बञ्चरेडाँडा ल्याण्डफिल साइट फोहोर फाल्न नदिने सत्तारुढ तीन दल एकमत भएका छन् । गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी, र एकिकृत समाजवादी दलले संयुक्त वक्तव्य गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।

घोषणामा धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले हस्ताक्षर गरेका छन् ।

विगत १७ वर्षदेखि काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानीय वासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बन्नुका साथै दीर्घरोगले पीडित बनाएको उनीहरुले बताएका छन् । ‘स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलन पश्चात काठमाडौं महानगर लगायत राज्यको विभिन्न अङ्गसंग पटक पटक गरेर अहिले सम्म १७४ वटा सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन गर्न नचाहेको र राज्यको आफ्नै निकायले गरेको सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडित जनतामाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादती गरेको छ’ उनीहरुले नगर प्रमुखलाई बुझाएको पत्रमा भनिएको छ ।

फोहोर रोकिएपछि काठमाडौं महानगरका अधिकारीहरुले भने यसलाई फोहोरमाथि भएको राजनीति भनेका छन् । तर एकीकृत समाजवादीका नेता धितालले भने फोहोरको विषय जनताको समस्याको विषय भएको भन्दै राजनीतिक गर्न नखोजेको स्पष्ट पाए । ‘हामीले स्थानीय जनताको कुरा उठाएको हो । हाम्रा जनप्रतिनिधिसँग सम्झौता गर्ने, कार्यान्वयन नगर्ने अनि फोहोर रोक्छु भन्दा कसरी राजनीति भयो ?’ धितालले प्रश्न गरे ।

सम्झौता कार्यान्वयन गर्न महानगरलाई समय दिएको भन्दै अब कार्यान्वयन नभएसम्म एक पोका फोहोर पनि खस्न नदिने बताएका छन् । चुनावको बेला जनतालाई आस मात्रै देखाउने र बञ्चरेडाँडाबासीलाई फोहोरमा राख्ने हो भने आगामी निर्वाचन समेत बहिस्कार गर्ने दलका प्रतिनिधिहरुले नै बताएका छन् । महानगरले सम्झौता विपरीत एकोहोरो रुपमा ज्यादती गरेर अपराध गरेको पनि उनीहरुले बताउँदै आएका छन् ।

About The Author

अन्य समाचारहरु: