धादिङ – धादिङका भुकम्प पीडित स्थानीयहरुले सरकारले दिने भनिएको राहत स्वरुपको रकम नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्पले जिल्लामा रहेका अधिकांशका घरहरु ध्वस्त भएका छन् । भूकम्प पीडितलाई दिने भनिएको राहत रकम ग्रामीण क्षेत्रमा मात्र वितरण गरिएको र नगरपालिका क्षेत्रका पीडितहरुलाई वेवस्था गरेको भन्दै घेराउ गरेको हो ।
भुकम्प गएको यतिका दिन वितिसक्दा समेत तत्काल पुनः बसोवासका लागी दिने भनेको रकम नदिएको भन्दै घादिङको नीलकण्ठ नगरपालीका क्षेत्रका स्थानीयहरुले प्रशासन घेराउ गरेका हुन । भुकम्पबाट अति प्रभावित स्थानीयहरुले सरकारले राहत स्वरुप दिईएको त्रिपाल पनि फाटिसकेको र बर्षा सुरु भएकोले आफुहरुलाई समस्या भएको भन्दै त्रिपाल च्यातियो जस्ता चाहियो भन्दै नारा लगाई नगर क्षेत्रको परिक्रमा समेत गरेको थियो ।
धादिङमा राहतको रकम वितरणमा समानुपातिक नभएको भन्दै जुलुसमा सहभागीहरुले नाराबाजी समेत गरेका थिए । उनीहरुले राज्यले घोषणा गरेको रहतको रकम वितरण गर्दा समेत कतै ५ हजार कतै १५ हजार र कतै २२ हजार वितरण गरेको र धेरै जासो स्थानमा भने भुकम्प पिडितहरुका लागी दिईने १५ हजार रुपैया अझै नपाएको भन्दै विरोध जनाएका थिए ।
उता जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने पहिलो प्रथामिकता भुकम्पबाट अति प्रभावीत उत्तरी धादिङका १९ गाँउ विकास समितिलाई दिईएकोले गर्दा राहत स्वरुपको १५ हजार रुपैया वितरणमा नगर क्षेत्रमा ढिलाई भएको भन्दै अब चाडैनै वितरण गरिने बताउनु भयो । नगरपालीका क्षेत्रका पिडितहरुले भने आफुहरुलाई सरकारले विभेद गरेको भन्दै परिचय पत्र समेत नदिएको आरोप लगाएका छन् ।
उनीहरुले जति सक्दो चाडो तत्काल सरकारले दिने भनिएको राहत स्वरुपको रकम र भुकम्प पिडित परिचय पत्र उपलब्ध गराउन माग समेत गरेका छन् । आन्दोलनमा सहभागीहरुले सरकारले आफुहरुलाई आजको सात दिन भित्रमा राहत स्वरुपको रकम र भुकम्प पीडित परिचय पत्र नदिए कडा आन्दोलन गर्ने समेत बताएका छन् ।
जिल्ला दैविक प्रकोप उद्दार समितिका अनुसार भने जिल्लाको एक नगरपालिका र ४६ गाँउ विकास समिति मध्ये नगर क्षेत्रमा आंसिक रुपमा रकम वितरण गरिसकेको र अब केहीलाई मात्र वितरण गर्न बाँकी रहेको बताएका छन् । अन्य तिन गाँउ विकास समिति बाहेकका ४२ गाँउ विकास समितिहरुका सबै प्रभावित क्षेत्रका स्थानीयहरुलाई राहत स्वरुपको १५ हजार रुपैया वितरण भई सकेको समेत जनाईएको छ । हालसम्म जिल्ला भरी भुकम्प पिडितहरुका लागी १ अरव ११ करोड ९७ लाख वितरण गरी सकेको पनि समितिले जानकारी दिएको छ ।