धादिङ– धादिङमा डेंगु विरामीको संख्या हरेक दिन बढ्न थालेको छ । पछिल्लो डेढ महिनामा मात्रै धादिङ अस्पतालमा एक सय १४ जनामा डेंगुको संक्रमण भेटिएको छ ।
स्वास्थ्य परिक्षणमा आएका बिरामीहरु मध्य दैनिक चार/पाँच जनामा संक्रमण भेटिने गरेको अस्पतालका सुचना अधिकारी बिक्रम बिकले जानकारी दिए । ‘टाउको दुःख्ने, ज्वरो आउने जस्ता समस्या भएर चेकजाँचका लागि अस्पताल आएका अधिकाशं विरामीहरुमा डेंगुको संक्रमण भेटिएको छ’, बिकले भने- ‘हिजोआज जस्तै संक्रमण बढ्ने नरोकिए डेंगुले प्रकोपकै रुप लिने संकेत देखिएको छ ।’
साउन महिनामा ६२ जनामा डेंगु संक्रमण भेटिएको थियो । पछिल्लो दुई सातामा ५२ जनामा डेँगु देखिएको छ । संक्रमण बढ्दै जाँदा धादिङबासी त्रसित बनेका छन् ।
एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोग सर्दछ । पोथी लामखुट्टेले अण्डा पार्न रगत चाहिने भएकाले दिनको समयमा यसले मानिसलाई टोक्ने गर्दछ । डेंगुबाट बच्न घरगाउँ वरपर रेहेका खाल्डा खुल्डी पुर्ने, पानी जम्न नदिने, सवारी साधनका टायर भए सुरक्षित राख्ने, लामखुट्टेबाट सुरक्षित रहने जस्ता उपाय अपनाय डेंगुबाट बच्न सकिन्छ ।