Wed. Apr 23rd, 2025

म्यादी प्रहरीलाई सामाजिक सञ्जालमा टिप्पणी गर्न रोक

काठमाडौ – आगामी आमनिर्वाचनमा खटिने म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभावी सामग्री राख्न र सेयर गर्न नपाउने गरी सरकारले मापदण्ड बनाएको छ ।

गृह मन्त्रालयले स्वीकृत गरेको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ मा म्यादीले ड्युटीको मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री पोस्ट गर्न नपाउने उल्लेख छ ।

म्यादीले ड्युटीको समयमा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् । आफ्नो काम अरूलाई सुम्पिएर अन्यत्र हिँड्न वा भाग्न पनि पाइने छैन ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले म्यादी भर्ना भइसकेपछि तोकिएको अवधिभित्र मापदण्ड कडाइका साथ लागू गराउन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए ।

प्रहरी प्रवक्ता नायब महानिरीक्षक डीआईजी टेकप्रसाद राईले गृहबाट स्वीकृत मापदण्डअनुसार भर्ना प्रक्रिया अघि बढाउन लागिएको बताए । मापदण्डविपरीत गतिविधि गरे म्यादीलाई तत्काल जिम्मेवारीबाट बर्खास्त गरिने मन्त्रालयले जनाएको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका बेला आचारसंहिता र अनुशासनविपरीत गतिविधि गरेको आरोपमा करिब ५० म्यादी प्रहरीलाई कारबाही गरिएको थियो ।

‘गत स्थानीय तहमा म्यादी प्रहरीबाट भएका आचरणविपरीतका गतिविधि दोहोरिन नदिन र सुरक्षा जिम्मेवारीमा प्रतिबद्ध भएर लाग्न सहयोग पुग्ने गरी मापदण्ड बनेको छ,’ प्रहरी प्रवक्ता राईले भने, ‘मापदण्ड र आचारसंहिताविपरीतका गतिविधि गर्नेलाई तत्काल बर्खास्त गरी कारबाहीको दायरामा ल्याइनेछ ।’

About The Author

अन्य समाचारहरु: