Sun. Sep 25th, 2022

सकियो चेपाङको न्वागी (फोटोसहित)

धादिङ– सानो घर, घर भित्रको एक कुनामा वर्ष भरि बारीमा फलेका अन्न, तरकारी र फलफुल । नाङ्लोमा धान, चामल, पिडालु, कागती लगायत कन्दमुल । आडैमा बसेर भूमि पुजा र पितृ बुझाउन चेपाङ झाँक्री ढ्याङ्ग्रो ठटाएर फलाकिरहेका हेर्न गाउँका बुढापाका पनि जम्मा हुने रहेछन् ।
न्वागी मनाउन आइपुगेका आफन्त र छरछिमेकीका मिठा बात र नाँचगान उस्तै रमाइलो । चेपाङ समुदायकै राष्ट्रिय पर्व न्वागी यो वर्ष पनि मनाएका छन् । चेपाङ झाँक्रीहरु भन्छन्,– ‘नयाँ बाली पितृलाई बुझाउने र भुमिको पुजा गरेर कुल रिसाउन र अनिष्ट हुनबाट बच्न न्वागी मनाउँछौं ।’

धादिङको वेनिघाट रोराङ गाउँपालिका–३ माथिल्लो ओर्वाङका ८३ वर्षिय जितबहादुर चेपाङ उनका कुलको झाक्री हुन् । न्वागीको दिन रातभर मन्त्र फलाकेर विताए । नयाँ बाली पाकेपछि पितृलाई नबुझाई र भूमि पुजा नगरी खाए पितृ र कुल रिसाउँछ, अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । ‘नयाँ बाली पितृलाई नबुझाई र अन्न फलेको भुमिको पुजा नगरी खायो भने कुल रिसाउछ, मानिस विरामी पर्छ, अनिष्ट भएरै छोड्छ’, उनले भने–‘रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमीलाई धन्यवाद दिने गरिन्छ ।’

धर्म परिवर्तनले हाम्रो संस्कृति धराममा परेको छ । पहिचान र संस्कृति अस्तित्वको लडाईमा रहेको उनले बताए । अहिले धेरै किसिमका धर्म आउन थाले । ‘ म २२ वर्ष हुदा देखि पुजा गर्दै आएको छु । हामी चेपाङले हाम्रै संस्कृति चिन्न र जोगाउन मुस्किल छ’, जितबहादुरले चिन्ता व्यक्त गरे ।

जेष्ठ नागरिकले संस्कृति जगेर्नाको चासो गरिरहदा ओर्वाङका चेपाङ समुदायमा युवा झाक्रीहरु पनि भेटिन्छन् । ओर्वाङकै सोमबहादुर चेपाङ पनि गत मध्यरातमा ढ्याङ्ग्रो बजाएर फलाकिरहेका थिए । २२ वर्षिय सोमबहादुर भन्छन्,– ‘आफुलाई सानैमा सपनामा आएर मन्त्र दिएको थियो । त्यति खेर याद भएन । तर १२÷१५ वर्ष हुदाँ याद आयो, म झाक्री भएँ ।’ हजुरबा, बुबाहरुको पुस्ताबाट सिक्दै युवा पुस्ताले आफ्नो सस्कृति जोगाउनुपर्ने उनले बताए ।

न्वागीमा बलि दिने चलन पनि छ । न्वागीमा झाक्री बसेर रातभर सिमेभुमे फलाकेर रात विताउने गर्छन् । भोलिपल्ट पितृ बुझाउने, कृषि जन्य उत्पादन हुने भूमिलाई धन्यवाद दिने र पितृलाई भोग (बलि) दिने गरिन्छ ।

धादिङ जिल्लाको नाम पनि चेपाङ (प्रजा) भाषाबाटै राखिएको भन्ने कथन बताए । ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी देउता’ हो । यसैलाई मिलाएर धादिङ नाम बसेको हो ।
चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्छन् । जंगलका गिठा भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजंगलसँग राम्रो साइनो गाँसिएको छ । धादिङको दक्षिणी क्षेत्रको विभिन्न ठाउँमा चेपाङ जातिको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ जातिको जनसंख्या ६८ हजार ३ सय ९९ जना रहेको छ ।

Loading...