Sat. Feb 8th, 2025

डेङ्गुले दैनिक पाँच जना अस्पताल भर्ना

धादिङ ः अस्पतालमा डेङ्गुको विरामी दैनिक बढेको छ । एक साता यतादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गु लक्षणका विरामी आइपुग्ने गरेका छन् ।

लक्षण देखा परेका विरामीहरु मध्य परीक्षण गर्दा दैनिक १० जना भन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पताल सुचना अधिकारी विक्रम विकले जानकारी दिए ।

‘दैनिक १०/१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यस मध्य पाँच जना भन्दा बढी विरामी अस्पताल भर्ना भइरहेका छन्’, विकले भने ।

विहिबारसम्म धादिङ अस्पतालमा नौ जना डेङ्गुका विरामी भर्ना भएर उपचाररत छन् । सामान्य अवस्थाका विरामीलाई होम आइसोलेसनमा राखिएको सुचना अधिकारी विकले जानकारी दिए ।

सरकारी अस्पतालले मात्रै साउन यता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको संख्या यकिन छैन ।

धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेंगुका शंकास्पद बिरामी बहिरंग कक्ष (ओपीडी) लाइन लाग्ने गरेको छ । दैनिक रुपमा १० भन्दा बढी डेंगुका बिरामी आउने गरेका छन् भने त्यसमध्ये ४ /५ जना अनिर्वाय भर्ना गरेर बस्नुपर्ने धादिङ अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. दिनेश रेग्मीले बताए ।

ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने भएपछि डेंगुको लक्षण हो कि भन्दै बिरामी परीक्षणका लागि आउने गरेका छन् ।

पछिल्लो चारदिन यताकै दरमा दैनिक रुपमा डेंगुका विरामीको बढ्ने हो भने अस्पतालमा बेडको अपुग हुन सक्ने रेग्मीको भनाई छ ।

About The Author

अन्य समाचारहरु: