Sun. May 19th, 2024

एसियन राजमार्ग सन्चालनमा ढिलाई

झापा : नेपाल–भारत सीमाको काँकडभिट्टा नाकासम्म एसियन राजमार्ग विस्तार भए पनि भारतीय पक्षको असहयोगका कारण सञ्चालनमा ढिलाइ भएको छ।

आफ्नोतर्फ पानीट्यांकी नाकामा भन्सारका संरचना निर्माण नभएको जनाउँदै भारतीय पक्षले अन्तर्राष्ट्रिय राजमार्ग पूर्ण सञ्चालनमा आलटाल गरेको हो।

दुई वर्षअघि नेपाल–भारत सीमाको मेची नदीमा ‘मितेरी पुल’ निर्माणसँगै अन्तर्राष्ट्रिय मापदण्डको एसियन राजमार्ग विस्तार भएको थियो।

भारत आफैंले छोटो समयमा पुलसँगै आकर्षक सडक बनाएको छ। तर, पूर्ण प्रयोगमा भने प्रतिबन्ध छ। ‘एसियन हाइवे’ भएर फाट्टफुट्ट मालवाहक सवारी आवतजावत गरिरहेका छन्।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल भारतीय पक्षले राजमार्ग सञ्चालनमा ढिलाइ गर्दा आवतजावतमा समस्या भइरहेको बताउँछन्।

‘नयाँ पुल र त्यससँग जोडिएको राजमार्ग पूर्णरूपमा सञ्चालन नहुँदा पुरानै पुलको बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यता छ’, प्रजिअ रिजालले भने।

एसियाली राजमार्ग सञ्चालनका विषयमा कोलकातास्थित महावाणिज्य दूतावासमार्फत भारतीय पक्षसँग सम्वाद भए पनि भारतले कुनै प्रतिक्रिया नजनाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए। एसियाली विकास बैंकको डेढ अर्ब भारतीय रुपैयाँको ऋण सहयोगमा ६ लेनको सडक निर्माण भएको हो।

एसिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सञ्जाल परियोजनाअन्तर्गत निर्माण भएको ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको दुई वर्ष बितिसकेको छ। कोरोना संक्रमणका बेला भारतले उक्त राजमार्गको निर्माण कार्य पूरा गरेको थियो।

About The Author

Loading...

अन्य समाचारहरु: