Sun. May 19th, 2024

जबर्जस्ती करणीमा पर्नेमध्ये २८ प्रतिशत दलित

काठमाडौँ — सर्लाहीको विष्णु गाउँपालिकाका यादव थर गरेका १९ वर्षे युवकले विवाह गर्ने आश्वासन देखाएर गाउँकै १७ वर्षीया दलित किशोरीलाई भगाएर लगे ।

बाराको जितपुरमा लगी २० दिनसम्म राखेका उनले पछि जातको कारण देखाउँदै किशोरीलाई उनकै घरमा लगेर छाडिदिए ।

यता, माइती पक्षले विवाह गरिसकेकी छोरीलाई घर भित्र्याउन नमिल्ने भन्दै गोठमा राखे । विवाहको आश्वासन दिई जबर्जस्ती करणी र शरीर बन्धकमा युवकविरुद्धको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।

कल्याणपुर–३ सिरहाका मण्डल थर गरेका युवकमाथि विवाह गर्छु भन्दै दलित किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लाग्यो । बिहान किशोरीलाई उनकै घरमा लगेर छाडिदिएपछि परिवारले किशोरीलाई लिएर मण्डलकै घरमा पुगे । तर, ‘हाम्रो घरमा दलितको छोरीको पानी चल्दैन’ भन्दै मण्डल परिवारले स्विकारेन ।

पीडितले केटा पक्षविरुद्ध जबर्जस्ती करणी आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–७ बस्ने ५० वर्षीय कुशवाह थरका पुरुषले सोही गाउँकी दलित महिलालाई घर बनाउने सामान खरिद गरिदिने प्रलोभन देखाएर मोटरसाइकलमा राखेर लगे ।

उनले वडा ५ स्थित सिँचाइ खोला नजिक झाडीमा आफूमाथि जबर्जस्ती करणी गरेको महिलाको आरोप छ ।

About The Author

Loading...

अन्य समाचारहरु: