Thu. Mar 28th, 2024

भन्सार छलेर ल्याइएका माछा नष्ट

काठमाडौ – भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।

वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नंको रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् ।

बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो । करिब पाँच सय ६० केजी माछामध्ये ५० देखि ६० प्रतिशत सडेको अवस्थामा पाइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका पशु स्वास्थ्य प्राविधिक शिरिष गौतमले जानकारी दिनुभयो । सो माछालाई सोमबार नै सरोकारवालाको रोहबरमा राष्ट्रिय पक्षी रोग प्रयोगशालामा रहेको बायोलोजिकल पीटमा नष्ट गरिएको छ ।

अवैधरूपमा नेपाल भित्र्याइएका माछा नियन्त्रणमा लिएर नष्ट गर्ने अभियानमा राज्यका निकायलाई सहयोग गरिरहेको सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले भारतका अवैध माछाले बजार कब्जा गरेपछि नेपालमा उत्पादन भएका माछा बिक्री हुन छाडेको गुनासो गर्नुभयो । विभिन्न नाका हुँदै दैनिक ५० टन माछा भारतबाट भित्रिएको सङ्घको दाबी छ ।

About The Author

Loading...

अन्य समाचारहरु: