धादिङ – यातायात व्यवसायी संग र स्थानीयबीचको छलफलपछि अवरुद्ध पृथ्वीराजमार्ग ६ घन्टापछि खुलेको छ ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए । पीडितलाई उचित क्षतिपुर्ती दिने र चालकलाई कारबाही गर्ने सहमतिपछि राजमार्ग खुलाइएको हो ।
बिहिवार बिहान करिब पौने १० बजे काठमाडौबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करले स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु भएको थियो । गजुरीकै आदर्श माविको कक्षा एकमा अध्ययनरत परियारलाई बिद्यालय जाने क्रममा बसले ठक्कर दिएको थियो ।
घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारीहरु गन्तव्यतर्फ गुड्न थालेका छन् ।
आक्रोसित भीडले सडकमा नाराबाजी गरेका थिए । घटनास्थलमा थप भीड बड्न नदिन प्रहरीले काठमाडौतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको थियो । सयौं सवारी जाममा परेका थिए।