
मकवानपुर — ओरालोमा ब्रेक नलागेर बस खस्दा मकवानपुर र रुकुम पूर्वमा गरी १२ जनाको ज्यान गएको छ । ३८ जना घाइते छन् । मकवानपुरको भीमफेदीमा साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर मिनीबस ५० मिटर तल खस्दा ७ जनाको मृत्यु भएको हो । उक्त दुर्घटना २६ जना घाइते भएका छन् ।
३३ जना बोकेर काठमाडौंबाट हेटौंडातर्फ गइरहेको गरेको बा३ख ७८५८ नम्बरको मिनीबस मकवानपुरको भीमफेदी–६ जुरिखेतको एघार घुम्ती ओरालोबाट खसेको हो । बिहीबार अबेरसम्म मृत्यु हुनेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
बसमा सवार अधिकांश भारतीय नागरिक थिए । घाइतेमध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी मकवानपुरका अनुसार गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदीमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनास्थलमा एसपी वामदेव गौतमको नेतृत्वमा प्रहरी टोली पुगेर उद्धार गरेको थियो । मकवानपुर भीमफेदीसम्मको सडक खण्ड साना गाडीका लागि मात्रै उपयुक्त छ । बनेपा–नेपालथोक चल्ने मिनीबस काठमाडौंबाट वीरगन्ज जान फर्पिङ–भीमफेदी सडक खण्ड प्रयोग गर्ने क्रममा दुर्घटनामा परेको हो ।
बनेपा–नेपालथोक चल्ने मिनीबसका चालक तथा सहचालकलाई बाटोको जोखिमबारे जानकारी नहुँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । दुर्घटनामा परी दुई बालक सामान्य घाइते भएका छन् ।