Thu. Mar 28th, 2024

दशै पर्वको सार्थकता

राधिका सापकोटा
हिन्दु धर्म मान्नेहरुको सनातन पर्वको रुपमा दशैलाई उल्लासपूर्वक हामी मनाई रहेका छौं जानेर, देखासिकी गरेर, संस्कृति, धर्म आदि आदिका नाममा । एक अर्थमा दशैं असत्य माथि सत्यको विजय भएको खुशीयाली हो ।

रामचन्द्रले लंका विजय गरे—देवीले मधु कैटभ माथि विजय गरिन् । पौराणिक कथनलाई आधार मान्ने हो भने दैत्य र देवताहरुका वीचमा घनघोर युद्ध भयो, देवताहरुले हारे उनीहरुले देवीलाई गुहारे नवदृर्गाले दानवहरुको वध गरिन र देवताहरुको राज्य फिर्ता भयो । यो प्रसंगमा के देखिन्छ भने हिजोको मातृसत्ता त्यति शक्तिशाली थियो जसले युद्धहरुको समेत व्यवस्थापन गर्न सक्दथ्यो ।

दानव देवता यी पुरुष रुप हुन्, यिनको पुरुषत्व उम्लिदा धेरै युद्धहरु भएका छन् र त्यसको व्यवस्थापन गर्न अन्त्यमा महिला नै चाहिएको थियो । हिजो जसको साहाराले राज्य टिक्यो, जीवन वच्यो,आज उनै महिलाहरुलाई पुरुषहरुले पाउको धुलो बनाएका छन्, किन? किनकी हिजो शक्ति उनीहरुमा थियो र आज उनीहरु शक्तिक्षिण बनाइएका छन् । त्यसैले दशै हामी समस्त महिलाहरुको गौरवपूर्ण चाड हो । हामीले यसलाई विजयपर्वको रुपमा मनाउनु पर्दछ । नवदुर्गा तिनै शक्तिका स्रोत हुन् जसको प्रेरणाले यस युगका मानव स्वरुप शुम्भ निशुुम्भहरुमाथि हामीले विजय गर्नुछ ।

जतिखेरदेखि मातृसत्ता ध्यस्त गरियो— अत्याचार, हिंसा र युद्धले पृथ्वी जल्न थाल्यो । पौराणिक कालमा राम र रावणको पुरुषत्वले लंका जल्यो, कौरव पाण्डवको पुरुषत्वले कुरुक्षेत्र वन्यो । इतिहासका कालखण्डहरुमा पुरुषत्वकै अभिमानले नागासाकी, हिरोसिमा ध्वस्त भयो । इराक अफगानिस्थान रगतको आहालमा छन्, अव भारत—पाकको पुरुषत्वले कस्मिर जल्दैछ तर वर्तमानको यो विभिषिका अन्त्य गर्ने नवदुर्गाहरु छैनन किनकी महिलाहरुको शक्तिलाई छिन्नभिन्न पारियो, कैद गरियो, लज्जालु, डरपोक बनाइयो, दास नोकरनी बनाईयो र उनको आँट स्वाभिमानलाई कमजोर पारियो ।

मुसोलिनीले समेत महिलाहरुदेखि डराएर “चुपचाप भान्सातिर फर्क”भन्ने आदेश फर्मायो । लेनिनले स्विकार गरे नारीको सहभागिता विनाको क्रान्ति सम्पन्न गर्न सकिन्न । नेपालकै राजनीतिक, सामाजिक आन्दोलनमा महिलाहरु ठूलो संख्यामा सहभागि भए, साहादत प्राप्त गरे र एउटा राजनीतिक आन्दोलनले उचाई प्राप्त गर्यो । यद्दपी हिजोका मातृसत्ताका असल परम्परा अभ्यास र संस्कृतिलाई धुमिल बनाउन पुरुषहरुले पुराणका कथाहरु लेखे र धर्मका नाममा त्यसलाई प्रचार जारी राखे । महिलाहरुलाई अपमान गरे र उनीहरुको शक्तिलाई घरभित्रै कैद गरे । त्यसको शसक्त प्रतिकार स्वरुप इट्टाको जवाफ पत्थरले हुन सकेन र आज हाम्रो यो अवस्था छ ।

महिलाले निमार्ण गरेका मानवविकासको आदिम साम्यवाद आफैले ध्यवस्त गरे र अहिले पुनः साम्यवादको सपना बढिदैछ । फेरी पनि महिला अग्रसरता विना त्यो आदर्शमय समाज निर्माण हुनै सक्दैन किनकी हिजो पनि त्यस्तो गौरवपूर्ण समाजको नेतृत्व केवल महिलाहरुले नै गरेका थिए । 

About The Author

Loading...