
धादिङसहित देशभर बिहानैदेखि पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार बुधबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
धादिङमा बिहिवार अर्थात नवमीको दिन दिउसोदेखि नै ठाउँ ठाउँमा वर्षा भैरहेको छ । वर्षाले ग्रामीण सडकहरु हिलाम्मे बनेको छ ।