Thu. Mar 20th, 2025

सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी

स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ ।

गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो रु दुई सय ५० र कृषक तथा समूहले प्रतिकिलो रु तीन सयका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताउनुभयो ।

“किसान तथा समूहले फूलका थुङ्गाका अलावा मालासमेत बनाएर बिक्री गरे”, उहाँले भन्नुभयो, “तिहारको अवधिमा किसान तथा समूहद्वारा प्रतिमाला रु ८० देखि रु एक सयका दरले बिक्री भयो ।” यहाँ उत्पादन भएको फूल तथा माला स्थानीय बजारमै अत्यधिक खपत भएको थियो ।

स्थानीय बजारसँगै बुटवल, पोखरा, काठमाडौँ, दाङ, नवलपुरलगायत ठाउँमा समेत माला खपत भएको पौडेलले बताउनुभयो । तिहारको अवधिमा सयपत्री फूलको माग विगतका वर्षका तुलनामा यसपाली बढेको थियो । व्यापारीले यहीँ आएर फूल खरिद गरेर लगेका थिए । “फूल पहिलो चरणको बिक्री भएर सकियो”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा अहिले फेरि फूल उत्पादन भइसकेको छ, यो फूल विवाह, व्रतबन्धलगायतमा बिक्री गर्छौँ ।

साउनमा लगाइएको बोटबाट चैतसम्म उत्पादन लिन सकिन्छ ।” फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिई आर्थिकलाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफँैले फूलखेती गरेको थियो ।

यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नका लागि नर्सरी स्थापना गरेको थियो । गाउँपालिकाले व्यावसायिकरूपमा फूलखेती गर्नका लागि नर्सरी राखेको बिर्घा पुछारमा पालिकाका सबै वडाबाट छनोट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिएको थियो ।

खनजोतदेखि फूल उत्पादन हुँदासम्मका लागि गाउँपालिकाले प्रतिरोपनी रु नौ हजारका दरले अुनदान उपलब्ध गराएको थियो । गत वर्ष गाउँपालिकाले परीक्षणका रूपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यस वर्षबाट कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराएको हो ।

पालिकाका सातवटै वडाका तीन महिला समूह, एक घरबास होमस्टे र १० कृषक गरी १४ समूह तथा व्यक्ति छनोट भएका हुन् । कृषक समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनी जग्गामा व्यावसायिक फूलखेती गरेका छन् ।

About The Author

अन्य समाचारहरु: