Fri. May 24th, 2024

धादिङको नीलकण्ठ नगरपालिकामा पहिरो पुर्व सूचना प्रणाली स्थापना गरिने

धादिङ– धादिङको नीलकण्ठ नगरपालिकाभित्र पहिरो पुर्व सूचना प्रणाली स्थापना गर्ने भएको छ । 

युएसएआईडीको सहयोगमा फिड प्रालिले बर्षातको बेला पहिरोबाट हुनसक्ने क्षति कम गर्न पुर्व सूचना प्रणाली निर्माण गर्न लागेको हो ।

नीलकण्ठ नगरपालिकामा आयोजित शुभारम्भ बैठकले फिड प्रालिका प्रबन्ध निर्देशक डाक्टर सन्जय देवकोटाको नेतृत्वमा रहेको टोलीले अबको एक बर्षभित्र बृहत भौगर्भिक अध्यन गर्दै सो प्रणाली स्थापना गर्ने निर्णय गरेको हो । बैठकमा डा. सन्जय देवकोटा, डा. गोबिन्द आचार्य, डा. वसन्त राज अधिकारी, ई. सुरज गौतमको, भुवन राज अवस्थी उपस्थित थिए । 

नीलकण्ठ नगरपालिका भित्र सब-बेसिन (उप-जलाधार) स्केल तथा कुनै एक सम्भावित क्षेत्रमा उपकरण जडान हुने भएको छ । जल तथा मौसम बिज्ञान बिभागबाट सम्प्रेषण हुने ३ दिने मौसम पुर्वानुमानलाई समेत एकीकृत गर्दै सो प्रणालीले बर्षा तथा बर्षाका कारण जमिनले सोसेको पानीको मात्रा मापन गर्दै नगरपालिका स्थित स्थानिय आपतकालीन संचालन केन्द्रलाई जानकारी गराउने छ । 

सो उपकरणबाट प्राप्त भएको तथ्यांक विश्लेषण गर्दै पहिरोको पुर्वानुमान गरिने र पुर्व सुचना सम्प्रेषण गर्न मद्दत पुर्‍याउने अध्ययन टोली प्रमुख डा. देवकोटाले जानकारी दिए । 

नेपालमा बिरलै रुपमा यस्ता नविनतम प्रयासहरु भएका छन् र त्यस मध्ये पनि बर्षा मापन केन्द्र संगसंगै जमिनभित्र सेन्सर जडान गरेर माटोमा रहेको पानीको मात्रालाई समेत ध्यानमा राखी गर्न लागिएको यस अनुसन्धान नेपाल मै पहिलो र निकै महत्वपूर्ण रहेको दाबी डा. अधिकारीले गरेका छन् । 

‘केही दशकको अनवरत प्रयास पश्चात बाढी पुर्वानुमानमा नेपालले उल्लेख्य प्रगती हासिल गरेको देखिन्छ । पहिरो अध्ययन बाढी भन्दा निकै नै जटिल रहेको हुँदा, पहिरो पुर्वानुमानमा नेपाल प्रारम्भिक चरणमा रहेको छ र यस अध्यनले पहिरो पुर्व सुचना प्रणाली स्थापनाका गर्नका लागि बलियो आधार तय गर्नेछ’, डा. आचार्य भने । 

यस प्रणालीको परिक्षण नीलकण्ठ नगरपालिकामा हुन गइरहेको सन्दर्भमा नगरपालिका निकै उत्साहित रहेको र समग्र नगरवासीलाई यस प्रणालीले सहयोग पुर्‍याउनेमा विश्वसत रहेको नगर उप-प्रमुख दिपक बिश्वकर्माले बताए । 

सो कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, स्थानिय बिपद ब्यवस्थापन समिती, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: