धादिङ– धादिङबेसीस्थित पशुपति मन्दिरमा जात्रालुको घुइँचो लागेको छ । बाला चतुर्दशीको अघिल्लो रात जाग्राम बसेर बत्ति बाल्ने, भजनकृतन गर्ने भक्तजन र जात्रा हेर्न आउनेहरुको साँझदेखि नै भीड लागेको छ ।
अहिले पशुपति क्षेत्रमा सयौंको संख्यामा जात्रालु र भक्तजनको भीड छ । दर्शन गर्ने र फर्किनेको लर्को नै लागेको छ । धादिङ सोसियल भोलेन्टियरको रेस्क्यु टीमले जात्रालु र भक्तजनको व्यवस्थपन गराइरहेको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीले पनि जात्रा व्यवस्थापनमा सहयोग गरिरहेको छ ।
पितृहरुको सम्झनामा आज रातभर मन्दिर प्राङ्गढमा बसेर बत्ति बाल्दै भजनकृतन गर्ने र विहान ४ बजेपछि सतविज छर्ने चलन रहिआएको छ । गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा भोली बिहान शतबिज छर्ने चलन छ ।
मनोकामना पुरा होस् भनेर घरमै पुजा लगाएर फुलको डोली मन्दिरमा आइपुग्ने क्रम सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद लम्सालले बताए । फुलको डोली ल्याउने भक्तजनहरुले नीलकण्ठ–१२ मा रहेको मन्दिर परिसरबार नीलकण्ठ–३ को पिपलबोटमा फुलको तोरन तार्ने प्रचलन छ । यो डोली तारेको हेर्न बिहानीपख जात्रालिको अझ ठूलो भीड लाग्ने गर्दछ ।