अस्मिता खतिवडा, धादिङ –
पहेंलोे कुर्ता, हरियोे सुरुवाल, सुरुवाल संगै सेट मिलाएर होला सल पनि हरियै छ । देब्रे हातभरी चुरा छ, गाढा हरियो रङको, २ दर्जन भन्दा कम छैनन् सायद । दाईने हातमा गोल्डेन कलरको घडी । घडी संगै हरियो र पहेँलो रङको मिलाएर ५ वटा चुरा । घडी संगै भए पनि म्याच नगरेको भने थिएन चुराले । सिल्की परेको लामो कपाल, काँटाले आधा चेपेको आधा छाडेको । याद गरेँ, काँटा पनि हरियै थियो । अझै नियाल्न मन लाग्यो, हातमा मेहेन्दी नी रैछ । नङ लामा थिए, रातो पालीसको माथी माथी हरियो बुट्टा भरिएका थिए, मनमनै भनें आहा ! म पछाडी, उहाँ अगाडी अगाडी । अनुहार देखेको थिइन । को होला भन्ने जिज्ञासा लाग्यो । सिधै अगाडी पुगेर हेर्न अलि अड लाग्यो, साइडमा गएँ, उहाँ पट्टि हेरें । बाटोमा सधैँ देखिरहेको अनुहार । छक्क परें, पर्नुपर्ने कारण पनि थियो, सधैँ टिसर्ट पाईन्टमा अलि हिपप् स्टाइलको जो हनुहुन्थ्यो उहाँ । मैले हेरिरहँदा उहाँले पनि मलाई नै हेर्नुभएको रहेछ पत्तै पाइन । एक्कासी आवाज आयो कता ? रेडियो जान लाग्या हो ? म केही बोलीन, मुसुक्क हाँसे, हो भन्ने प्रतिक्रिया दिनको लागि ।
आफ्नै सुरुमा हिँडिरहेँ, खै कताबाट कलेजका कुरा सम्झन पुगेछु । असार आधा आधी नहुँदै देखी कलेजमा साथीहरुले कुरा गरेका थिए, ओई एसपाली त साऊनमा व्रत बस्दा एकदम राम्रो छ रे, बस्नुपर्छ है ? ल ल भन्दै साथी सन्तोषी भन्दै थिई– अनि मेहेन्दी चाहीँ असारको लास्ट दिनमै लगाऊने है ? त्यही विचमा क्लासमा हामि भन्दा अर्को साइडमा बस्ने शुशिला भन्दै थिई म त चुरा पनि टन्नै लगाऊने हो । अर्की साथी, रोसिना–ओई म त एसएलसी पछि बाटै साऊनमा व्रत बस्छु, चुरा लगाऊँछु । मलाई भने सुन्दा नै अचम्म लागिरहेको थियो । तर नाईं भन्ने प्रतिक्रिया दिन मन लागेन, सबै साथीहरुको समर्थन जो थ्यो । अल्टर बन्न किन चाहन्थें र ।
हिँड्दै अलि अगाडी पुगें, झट्ट हेर्दा म भन्दा सिनियर देखीने एक जना दिदि फोनमा बोल्दै आऊँदैहुनुहुन्थ्यो– “मलाई चुरा लगाईदिन आऊने हैन ?” के रिप्लाई आयो, अड्कल लगाऊन सकिन । दिदिले फेरी भन्नुभो– “अनि सुन्नुन, हातमा हजुरको नाम लेख्छु, कहाँ लेखेको तपाईले थाहा पाऊनु पर्छ नी ।” हिन्दी सिaरियलमा देखेको कुरा कानैले सुनें । अलि अगाडी हरियै सजिएकी दिदि, फेरी अहिले अर्कोको पनि कुरा उस्तै छ । कता कता मनमा छोयो ।
रेडियो पुगें, हरियो चुराका विषयमा बेलुकाको समाचारमा रिपोर्ट बजाऊने कुरा आयो, त्यो काम आफैंले गर्न मन लाग्यो । कामको जिम्मा लिएं । रेकर्डर लिएर बाहीर निस्किंए । हरियो चुरा, मेहेन्दी, व्रत अनि समग्र साऊन महिनाको बारेमा आमा दिदिबहिनीहरुको विचार लिनको लागी । नजिकैैको कस्मेटिक पसलमा गएं, महिला दिदिबहिनीहरुको भिड देखें, कोही चुरा छान्दै, कोही लगाऊँदै अनि कोही चाहीँ सुहायो की सुहाएन भनेर एैना हेर्दै । सोचें, धेरै स्थानका सबै जसो उमेरसमुहका दिदिबहिनीहरु यहिं भेटिन्छन् यहिं रेकर्ड गरौँ क्यारे । पसलमा पसें, पसलको दिदिले भन्नुभो– “ओहो अस्मिता ! तिमी पनि चुरा लगाऊने ? आउ आउ ।” ग्राहक थपियो भन्ने खुशी थियो दिदिमा, हैन भनेर निराश बनाउन मन लागेन, अनि मुसुक्क हाँस्दै भनिँदिएं–अहिले लगाऊँला नी दिदि, अनि ढिला नगरी जे गर्न आथें त्यही काम गर्न तर्फ लागें । चुरा छान्दै गर्नुभएकी एक जना बुढी आमालाई साधें–आमा, साऊनमा हरियो चुरा किन लगाऊँछन् ? खै नानी, बुढाको दिर्घायु हुन्छ रे । मेरै उमेरको अर्की एक जनालाई साधें, तपाईले चाहिं किन लगाऊनुभाको चुरा ? हा… हा.. हाँस्दै भन्नुभो, रोजेको बुढा पाइन्छ रे ।
बिहे गरिसक्नुभएकी अर्कि दिदि हातमा लगाएको मेहेन्दी गाढा भयो भनेर रमाऊँदै हुनुहुन्थ्यो । सोधीहाँले के हुन्छ र मेहेन्दीको रङ गाढा बसेमा ? उत्तर आयो– बुढाले माया गर्छन् रे क्या । मेरो काम बनिसकेको थियो रेडियो फर्किंए, साऊनका बारेमा अझै जान्न मन लाग्यो । गुगलमा हरिया चुरा र मेहेन्दीका बारेमा खोजें । हरियो रङबाट शरिरले शीतलता एवं स्फूर्ति प्राप्त गर्छ, नयाँ जोस र जाँगर उत्पन्न गराऊँछ, आँखालाई फाइदा पु¥याउछ, विस्वासको भावना जागृत गर्न सहयोग पु¥याउछ अनि सकारात्मक उर्जा सञ्चार गर्न सहयोग गर्छ जस्ता धेरै कुरा भेटें ।
अन्ततः मैले पनि हरियो चुरा अनि मेहेन्दी लगाउने निर्णय गरें । केही पनि नजानेर गरें, लहैलहैमा लागेर गरें या धेरै कुरा बुझेर गरें, त्यो निर्णय ? थाहा छैन । गुगलमा हरियो रङका विषयमा लेखीएका गुनगान, बाटोको त्यो दृश्य र पसलका आमा दिदिबहिनीहरुका विचार । सबै भन्दा भिन्न बन्न मन लागेन, अनि..मैले पनि त्यसै गरें । लाग्छ, म जस्तै अन्यौलतामा मेहेन्दी र हरियो चुरामा सजिने महिला दिदिबहिनीहरु टन्नै हुनुहुन्छ ।