सिन्धुपाल्चोक – खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताए । आज बुधवार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाण्डौमा पानी वितरण सुरु गरिने बताए ।
गएको जेठ दोस्रो हप्तादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमवारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा हालेको झन्डै १० देखि १२ दिनपछि काठमाण्डौ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
मेलम्ची खानेपानीको हेडबक्सु बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दीर्घकालीन रूपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिए।
उहाँले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने बताए । सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए ।
उनले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकोमा खुसी पनि व्यक्त गरे। निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मङ्सिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।