Tue. Jul 16th, 2024

महिलामाथी बढेको जोखिम र सुरक्षाको चिन्ता

गायत्री खतिवडा –

gayatri khatiwada phoot

विवाह गरेको ३० वर्ष भयो । श्रीमान अर्की श्रीमति लिएर काठमाडौंमा बस्दै आएका थिए । म एक्लै घरमा बस्दै आएकी थिएँ । बस्तु भाउ, खेति, घर सबै मेरै जिम्मामा थियो । । मैले ५ वटा खसी पालेकी थिएँ । दुई वटा बेचेर भुकम्पले घर लडेकोले बस्ने बास बनाएँ । भुकम्प पछि सवै जना घरमा आए । जब उनीहरु घर आए त्यसपछि यसै विषयमा झगडा हुन थाल्यो । मेरो श्रीमान, सौता र सासुको आरोप थियो खसी बेचेको पैसा कहाँ हालिस् ? दिनदिन झगडा बढ्दै गयो । म माथी कुटपीट भयो र घरबाट निकाला गरियो । बिहे गरेको ३० वर्ष पछि म घर बाहिर निस्कनु पर्यो । अब म कहाँ जाउँ ?

म काठमाडौंमा पढ्दै थिएँ । बुबा सरकारी जागिरे हुनुहुन्थ्यो । बुबाको जागिर अनुसारको सरकारी क्याप भित्र बस्थ्यौं । भुकम्प गयो । त्यसपछि आमा, भाइ र म घर फर्कियौं । अरु समयमा हामी दशैंमा मात्र घर आउने गथ्र्यौं । गाउँका मान्छेहरुसंग घुलमिल हुने हुँदैनथ्यो । यो पटक लामो समय बसेकोले म बाख्रा चराउन जाने गर्थें । एक दिन बिहान बाख्रा चराउन जाँदा गाउँकै एक जना चिनेको केटाले जवरजस्ति गर्ने कोशिस गर्यो । म चिच्याएँ, कराएँ । त्यसपछि राहत लिन आएका मान्छेहरुले देखे र उ भाग्यो । त्यसपछि मैले प्रहरीमा उजुरी दिएँ तर उ अहिले पनि फरार छ । मलाई यसै कुराले निक्कै टेन्सन हुन्छ, खान मन लाग्दैन, कसैसंग बोल्न मन लाग्दैन र पढ्ने कुरामा ध्यान जाँदैन । मैले कसरी न्याय पाउँछु ?

भुकम्प पहिले हामी छुट्टाछुट्टै बस्थ्यौं । मेरो श्रीमान विदेशमा हुुनुहुन्थ्यो । दुई जना बच्चाहरुसंग म बस्थें । भुकम्प पछि दुई जना देवर र सासु ससुरा हामी संगै बस्न थाल्यौं । देवरहरुले म माथी नराम्रो नजरले हेर्न थाले । खासै राम्रो बोलचाल पनि हुँदैनथ्यो । यस्तैमा एक दिन साँझको समयमा म कोठा भित्र खाना बनाउँदै थिएँ । मेरो एक जना चिनेको केटा आयो । उसले पनि मलाई भाउजु नै भन्थ्यो । उसले म संग केही पैसा मागेको थियो । ढोकामा अडेस लागेर त्यसै विषयमा कुरा गरिरहेका थियौ अचानक कान्छो देवरले बाहिरबाट चुकुल लगाइदिए । एकै छिनमा अर्को देवर पनि आए । त्यसपछि देवरहरु मिलेर मलाई र त्यो केटालाई बेस्मारी कुटे । केही छिन म बेहोस भएँ । होस आए पछि पनि म उठेर हिड्न सकिन । भोलिपल्ट देवरले प्रहरीमा सार्वजनिक मुद्दा दर्ता गराएछन् । प्रहरीले त्यो केटा र मलाई नियन्त्रणमा लियो १७ दिन थुनामा राख्यो । अहिले श्रीमान विदेशबाट आए अब मलाई स्विाकार नगर्ने रे । बिनाकारण जेल त जानुप¥यो नै घरबाट निकालिनु प¥यो । अव मैले कसरी न्याय पाउँछु ?

बैशाख १२ गते गएको भुकम्पछि महिलामाथी भएका हिंसाको केही प्रतिनीधि उदाहरण मात्र हो यो । विभिन्न खालका हिंसामा परेका महिलाहरु दैनिक ३÷४ जना जिल्ला प्रहरी कार्यालयको आँगन सम्म आइपुग्छन् । उनीहरु सवैको कहानी सुन्दा थाहा हुन्छ, भुकम्प प्रमुख कारण हो । भुकम्प अगाडीका दिनहरुमा छुट्टा छुट्टै बस्दै आएका परिवारहरु भुकम्प पछि जब एकै ठाउँमा बस्न थाले त्यसपछि हिंसा र र्दुव्यवहार भएको देखिएको छ । हिजो घरमा बस्नेहरु आज खुल्ला पाल र शिविरमा बस्नु परेकोले हिंसा र र्दुव्यवहार भएको पाइएको छ । हिजो बसेको ठाउँ भत्किएर आज अर्को ठाउँमा सर्दा पनि हिंसा र र्दुव्यबहार भएको छ । भूकम्पले सवैको दैनिकी त बदलिदिएको छ नै, परिस्थिती र वातावरण पनि बदलिएको छ । खाना र बासको निहुँले महिलामाथी हिंसा थपिएको छ । आपराधिक मानसिकता भएका मान्छेहरुले चलखेल गर्ने धेरै मौका पाएका छन् । भुकम्प पछिका दिनमा महिला र बालबालिका ओसार पसार, र्दुव्यवहार, घरेलु हिंसा र यौन हिंसाका घटनाहरु अघिल्लो समयमा भन्दा देब्बर भएको छ ।

जब देशमा कुनै प्रकारको विपद् या द्वन्द्व हुन्छ त्यसको प्रत्यक्ष मारमा महिला र बालिबालिकाहरु पर्ने गरेका छन् । हिजो सशस्त्र द्वन्द्वको समयमा पनि सवैभन्दा धेरै मारमा महिला र बालिकाहरु परेका थिए । अहिले भुकम्पपछिको समयमा पनि पहिलो निशाना महिला र बालबालिकाहरु नै बनेका छन् । भुकम्प पछिको समयमा खाना, बास र कपडाको अभाव भएसंगै गलत नियत भएका मान्छेहरु झन धेरै सल्बलाउन थाले । परिवारले पनि हिजोको रिसवीलाई आज अप्ठ्यारो भएको समयमा बाहिर निकाल्यो र थप हिंसा गर्न थाल्यो । जस्ले गर्दा महिला र बालिकामाथीको जोखिम दिनदिनै बढिरहेको छ । भुकम्प पछि धादिङ जिल्लामा भएको यौन हिंसा र आत्महत्याको अवस्था डरलाग्दो अवस्थामा रहेको छ । त्यसो त घरलु हिंसा र घर निकालाको केश पनि उच्च रहेको छ । गएको दुई महिनामा ६ वटा यौन हिंसाको घटना भएको छ । जति पनि महिलामाथी हिंसा भएको छ त्यसलाई हेर्दा प्रतिशोध, बदला र निकाला गर्ने उद्देश्यले भएको छ भने बालिकाहरु माथीको केशलाई हेर्दा माया दिएर, प्रलोभनमा पारेर, फकाएर, गरिएको पाइएको छ । विपद्का कारण अभिभावक गुमाएका बालबालिका र किशोरीहरु अझै धेरै जोखिमा परेका छन् । धादिङबाट अन्यत्र लैजान लागेका र वीच बाटोबाट फर्काइएका बालबालिकाको पछिल्लो उदाहरणले पनि प्रष्ट पारेको छ ।

भुकम्प पछि सवै ठाउँमा असुरक्षा बढेको छ । घर, गाउँ, समाज र विद्यालय सवैतिर । विद्यालय गएका बालबालिका समेत बेचिने खतरामा रहेका छन् । राहत वितरण या अन्य सहयोगको बाहनामा गाउँ पसेका दलालहरुबाट कतै निशूल्क पढाइदिने बहानामा, कतै बाल गृहमा राख्ने बहानामा र कतै रोजगारी दिलाइदिने बहानामा स्कुलबाट नै बालिकालिकाहरु ओसार पसार भएका छन् । त्यसैगरी महिला र किशोरीहरुलाई पनि जागिर लगाइदिने प्रलोभन देखाएर, विदेश पठाइदिने आश्वासन दिएर, बेचविखनका लागि र व्यवसाहिक यौन कार्यका लागि ओसार पसार गरिएको घटना सार्वजनिक भएको छ ।

यति बेला सिङ्गै बस्ति भयमा छ । लगातार गइरहेको पराकम्पनको त्रासले आफ्नो गाउँ र बस्ति छोडेर विस्थापित हुनेहरुको संख्या दिनदिनै बढिरहेको छ । सवैलाई गाँस बास, कपास र रोजगारीको चिन्ता छ । यस्तो अवस्थामा गाउँमा कमजोर वर्ग मुख्य निशासामा परेका छन् । एकातिर गर्भवति, सुत्केरी, अपाङ्गता भएका र वृद्धा महिलाहरुमाथीको जोखिम छ भने अर्कोतिर किशोरी र बालिकामाथीको जोखिम र सुरक्षाको चिन्ता छ । विपत्ति संगै राहत वितरण गर्नेको लर्को त लाग्यो तर महिला र बालबालिकामाथी हुने जोखिमका बारेमा कसैले ध्यान दिएन । या त्यस विषयमा पनि संगसंगै सचेत बनाउँदै लैजानुपर्छ भन्ने कुरा सोचिएन । जस्ले गर्दा जोखिम बढ्दो क्रममा रहेको छ । त्यसैले अवका दिनमा महिला र बालबालिका माथीको जोखिम र हिंसा कम गर्न सचेतनाका कार्यक्रम सञ्चालन गर्नु जरुरी छ । सरकारी र गैरसरकारी स्तरबाट गरिने कार्यक्रमहरुमा एकरुपता हुन आवश्यक छ । जोखिमका क्षेत्र पहिचान गरि हिंसा हुनै नदिने वातावरण तयार गरिनु आवश्यक छ । भुकम्पपछि जस्तो परिस्थीति सिर्जन भयो र त्यसले महिला बालबालिका माथी धेरै खालका जोखिम बढाएको हुनाले उनीहरुको सुरक्षाको विषयमा सवैले ध्यान दिन आवश्यक छ ।

About The Author

Loading...