१० साउन काठमाडौँ – फार्मेसीले सर्वसाधारणबाट झन्डै ७३ प्रतिशतभन्दा बढी मूल्य असुलिरहेका छन् ।
उपभोक्ता हित संरक्षण मञ्चले वीर अस्पताल परिसरभित्र सञ्चालित निजी फार्मेसी र महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको फार्मेसीले बिक्री गर्ने औषधिको मूल्यबारेमा तुलनात्मक अध्ययन गरेको थियो । एकै दिन एकै समयमा दुई फार्मेसीमा बिक्री गरिएका औषधिको अध्ययन गरिएको छ ।
सरकारी निर्णय कार्यान्वयन भएन
निजी फार्मेसीहरूको बेथिति बढ्दै गएपछि सरकारले सबै अस्पतालको आफ्नै फर्मेसी हुनुपर्ने नीतिगत व्यवस्था गरेको थियो । तर, सबै सरकारी अस्पतालले समेत फार्मेसी राखेका छैनन् । वीर अस्पतालमा अहिले पनि निजी फार्मेसी छ । त्यस्तै भरतपुर अस्पताल र पोखराको क्षेत्रीय अस्पतालमा पनि निजी फार्मेसीले नै औषधि बिक्री गरिरहेका छन् ।
सरकारले ७० प्रकारका औषधि निस्शुल्क वितरण गर्ने व्यवस्था गरेको छ । तर, ती अस्पतालका आफ्नै फार्मेसी नभएपछि बिरामी र तिनका आफन्त महँगोमा औषधि किन्न बाध्य छन् । सामान्यतया अस्पताल भर्ना भएका बिरामीको उपचार खर्चमध्ये ४० प्रतिशत औषधिमा खर्च हुन्छ ।
सर्वोच्चको आदेश पनि कार्यान्वयन भएन
करिब दुई महिनाअघि निजी फार्मेसीका लागि वीर, भरतपुर अस्पताल र पोखराको क्षेत्रीय अस्पतालले टेन्डर आह्वान गरेपछि उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णु तिमल्सेनाले सरकारलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
गत १३ असारमा रिटमाथि सुनवाइ गर्दै सर्वोच्चले साउनदेखि सबै सरकारी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, सर्वोच्चको आदेश अहिलेसम्म कार्यान्वयन भएको छैन । नयाँ पत्रिकाबाट