बनेपा – राजु लामा फाउन्डेसनले काभ्रेपलाञ्चोकमा रहेका भूकम्प प्रभावित विभिन्न सातवटा विद्यालयमा स्टेसनरी सामग्री वितरण गरेको छ ।
गायक लामाद्वारा स्थापित उक्त फाउन्डेसनले जिल्लाको रोशी उच्चमाध्यमिक विद्यालय, कानपुर उच्चमाध्यमिक विद्यालय, गौतमनाथ प्राथमिक विद्यालय, कालीजङ्ग प्रावि, खडादेवी प्रावि, अमरनाथ प्रावि र भगवति प्राविमा करिब एक हजार ५०० विद्यार्थीका लागि रु एक लाख बराबरको कापी, पेन्सिल र डटपेन वितरण गरेको हो । अमेरिकाको न्युयोर्कमा गरेका विभिन्न कार्यक्रम गरी सङ्कलन गरेको रकम शिक्षा क्षेत्रमा लगानी गरेको जानकारी गायक लामाले दिए ।
ती कार्यक्रमबाट झन्डै ३५ हजार डलर सङ्कलन भएको थियो । उहाँका अनुसार त्यसमध्ये रु १७ लाख सिन्धुपाल्चोकमा झोलुङ्गे पुल बनाउन र अन्य केही विद्यालयमा लगानी भएको बताए । त्यस्तै, चाइल्ड स्पेस नेपालले विद्यालयको भौतिक पूर्वाधारका लागि करिब रु १४ लाख लगानी गरेको छ ।
काभ्रेपलाञ्चोकको कटुञ्जेबेँसी गाविसमा रहेको रोशी उच्च माविमा रु आठ लाख र कानपुर उच्च माविमा रु चार लाख लगानी भएको संस्थाका अध्यक्ष टासी लामाले जानकारी दिए । रासस