Sat. Oct 12th, 2024

पहिरोको जोखिममा रहेका धादिङका १ हजार ५० घरधुरी सारियोे

punarsthana dhading
धादिङ – भूकम्पपछि बाढी पहिरोको जोखिममा परेकाहरुलाई धमाधम स्थानान्तरण गरिएको छ धादिङमा पनि पहिरोको जोखिममा रहेका घरधुरीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

धादिङमा १ हजार ५० सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रशासन कार्यलय धादिङका अनुसार स्थानान्तरण गर्न अझै एक हजार घरधुरी बाँकी रहेको छ । साउनको तेस्रो सातासम्म सम्पूर्ण घरधुरीलाई सुरक्षित स्थानमा सारिसक्ने प्रजिअ घिमिरेले जानकारी दिए ।

भूकम्पपछि पहिरोको जोखिममा रहेका धादिङका २ हजार १ सय ४४ घरपरिवारलाई सुरक्षित स्थानमा सारिनुपर्ने रहेको छ । दामगाडे, कुमालगाँउ, धन्सारपाखा, अल्छीडाँडा, आँपस्वरा, ढोला लगायतका ठाँउहरुमा सारिएको छ ।

उत्तरी धादिङको री, लापा, दार्खा लगायतका गाँउ विकास समितिका पीडितहरुलाई सदरमुकाम आसपासको खाली जग्गाहरुमा स्थानान्तरण गरिएको हो । जोखिममा रहेका केही घरपरिवार भने सुरक्षित स्थानमा स्थानान्तरण हुन मानेका छैनन् । खेतबारी पशुचौपाय तथा अशक्त वृद्धवृद्धाहरु अर्को ठाँउमा बस्ती सर्न मानेका छैनन् । आफु पहिलेदेखि नै त्यहि ठाँउमा बस्दै आएका कारण त्यो स्थानबाट अरु ठाँउमा नसर्ने बताएका छन् । यी बस्तीहरु सार्नका लागि ५१ करोड लाग्ने अनुमान गरिएको छ ।

सरकारले हालसम्म करिब साढे पाँच हजार घरपरिवारका २३ हजारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरीसकेको छ । भूकम्पबाट अति प्रभावित जिल्ला धादिङ सहित दोलखा, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, रामेछाप र ललितपुरका जोखिममा परेका बासिन्दालाई स्थानान्तरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहको तथ्यांकअनुसार सबैतिर गरी पाँच हजार चार सय ३१ घरपरिवारका २२ हजार आठ सय ६० जनालाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको हो । भूकम्पबाट प्रभावित २८ हजार घरपरिवारलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने गृहको तथ्यांक छ ।

About The Author

अन्य समाचारहरु: