
काठमाडौँ – कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि पुनस् सुरु भएको छ । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा ८ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ ।
काठमाडौंबाट चीनको राजधानीका लागि सिधा उडान गर्ने हिमालय एक मात्र वायुसेवा हो । साढे ४ घण्टाहाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन हुने गरेको छ । चीनको कुन्मिङ र ग्वाङझाउबाट काठमाडौं जोड्ने चिनियाँ वायुसेवाले राजधानी जोड्ने सिधा उडान हालसम्म गरेका छैनन् ।