Sat. Oct 12th, 2024

वैकल्पिक मार्ग नहुँदा हजारौं यात्रु अलपत्र

parasi pull

१२ श्रावण, परासी – पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत गैंडाकोटस्थित जयश्री पुल भाँच्चिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ भने हजारौं यात्रु बाटैमा अलपत्र परेका छन् ।

पुल भाँच्चिएपछि नारायणगढबाट पश्चिम जाने सवारी साधनहरु गैंडाकोटमा रोकिएका छन् । पश्चिमबाट नारायणगढतिर आउदै गरेका सवारी साधनहरु गैंडाकोटको थुम्सी, कावासोती, चोरमारा, बर्दघाट सुनवलमा रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

ट्रिपर र ट्रकले एकैसाथ पुल पार गर्न खोज्ने क्रममा पुल भाँच्चिएको स्थानीयबासीले बताए । दायाँ बायाँ रहेका फलामका पाताहरु भाँच्चिएपछि पुल करिव पाँच फिट तल धस्सिएको छ ।

सडक र पुलले धान्न सक्ने क्षमता भन्दा बढी भार बोकेर सवारी साधन हिंड्दा राजमार्गका अधिकांश पुल जोखिममा छन् । ट्राफिक प्रहरीले समेत क्षमता भन्दा बढी भार भएका सवारी साधनलाई तौल नियन्त्रण गर्नु भन्दा जरिवाना काट्दै छाड्दै गर्दा पनि समस्या देखिएको स्थानीयको दाबी छ । पुलमा एक पटकमा एउटा मात्रै गाडी पार गर्नु पर्नेमा त्यसमा पनि ध्यान नदिंदा समस्या देखिएको हो ।

जयश्री पुल यसअघि पनि भाँच्चिएको थियो । पुलको मर्मत राम्ररी नहुँदा पुल पुनस् भाँच्चिएको आरोप स्थानीयको छ ।

भाँच्चिएको पुल नजिकैबाट बैकल्पिक सडक बनाउन २४ घण्टा लाग्ने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । पुलको केही तलबाट वैकल्पिक बाटो तयार गरेर यातायात सञ्चालन गर्ने तयारीमा जुटेको डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर कृष्ण पन्थीले बताए ।

मंगलबार बेलुकासम्म डाइभर्सन बन्ने दाबी उनले गरे पनि हालसम्म काम सुरु भएको छैन । रातभरी जंगल र सडकमा बसेका यात्रुहरु अहिले पैदलै खोला वारपार गरी बस फेर्दै फर्कन थालेका छन् ।कान्तिपुरबाट

About The Author

अन्य समाचारहरु: