Fri. May 16th, 2025

औषधीमा पारदर्शिता कायम गर्न मन्त्री गिरीको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले औषधी खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । जनतामा ठुलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका हुन् ।

बिहीबार काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उनले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो विभिन्न समाचार माध्यमामा आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको पाइए कडा कारबाही हुने चेतावनी समेत दिए ।

मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहित स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराए । उनले अस्पतालहरूलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन पनि सम्बन्धित पक्ष लाग्नुपर्ने बताए ।

मन्त्री गिरीले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न पनि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराए । उनले स्वास्थ्य उपकरणहरूको दुरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने बताए । मन्त्री गिरीले विभागले महँगोमा उपकरण खरिद गर्ने तर जनताले त्यसबाट सेवा नपाउने अवस्था आइरहेकाले त्यस्तो अवस्था आउन नदिने गरी काम गर्नु पर्ने पनि स्पष्ट पारे ।

About The Author

अन्य समाचारहरु: