Fri. May 16th, 2025

धादिङको त्रिपुरासुन्दरीमा उच्च शिक्षासम्म निःशुल्क

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले उच्च शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाएको छ । आर्थिक अभावका कारण बीचमै पढाइ छोड्ने दर घटाउन र शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले गाउँपालिकाले निःशुल्क शिक्षासम्बन्धी कार्यविधि २०७९ बनाएर शिक्षालाई निःशुल्क बनाएको हो ।

गाउँपालिकाभित्र ११ र १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीका लागि मासिक पाँच सय र क्याम्पसका लागि मासिक सात सय रुपियाँका दरले रकम उपलब्ध गराउन थालेपछि गाउँपालिकाभित्र ६७५ जना विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाएका हुन् ।

कक्षा ११ र १२ तथा क्याम्पससम्मको शिक्षा निःशुल्क बनाउने त्रिपुरासुन्दरी गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । उच्च शिक्षासम्मको शिक्षा निःशुल्क दिने घोषणाअनुसार गाउँपालिकाले सबै विद्यार्थीको शुल्क बेहोर्न थालेको पालिका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो ।

अभिभावकको आर्थिक अभावका कारण बीचमै विद्यार्थीले पढाइ छोड्ने दर घटाउन र शिक्षामा सबैको समान पहुँच बढाउने उद्देश्यले गाउँपालिकाले निःशुल्क शिक्षाको व्यवस्था गरेको उप्रेतीले बताउनुभयो ।

उप्रेतीले भन्नुभयो, “अब पालिकाभित्र कसैले पनि आर्थिक अभावका कारण पढाइ छाड्नु पर्दैन, उच्च शिक्षासम्मको जिम्मा पालिकाले लिनेछ ।” वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार निःशुल्क शिक्षा कार्यक्रमलाई कार्यान्वयन गरेको बताउँदै अध्यक्ष उप्रेतीले अबको ध्यान गुणस्तरीय शिक्षातर्फ हुने बताउनुभयो ।

त्रिपुरासुन्दरी गाउँपालिकाभित्रका ११ वटा मावि र दुईवटा सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले निःशुल्क रूपमा शिक्षा लिइरहेका त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

About The Author

अन्य समाचारहरु: