
फोटो क्याप्सन सरकारी परिसरमा रहेको भानु पार्क मिचेर बनाइएको धादिङबेसी सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको ट्याङ्की निर्माणस्थल ।
धादिङ – कुनै पनि आयोजनाको शिलान्यास जहाँ गरियो संरचना निर्माण त्यही हुनुपर्छ । तर धादिङबेसी सहलगानी खानेपानी तथा सरसफाई आयोजनाले भने एकातिर शिलान्यास गरेर अर्कैतिर पानी ट्याङ्की निर्माण थालेको छ । त्यो पनि ऐतिहासिक सम्पदा मिचेर ।
गत भदौ १३ गते नीलकण्ठ नगरपालिकाका मेयस भीमप्रसाद ढुंगानाले नगरपालिकाले हाल पार्किङको रुपमा प्रयोग गरिरहेको जमिनमा आयोजनाको शिलान्यास गरेका थिए । तर अहिले त्यहि आयोजनाको ट्याङ्की निर्माण जिल्ला प्रशासन कार्यालय नजिकै रहेको भानुपार्कमा सुरु गरिएको छ ।

पार्कमा भानुको शालिक छ । विभिन्न समयमा विभिन्न व्यक्तिहरुले थुप्रै विरुवाहरु रोपेका छन् । शौचालय र बस्नका लागि गोलघरहरुसहितका संरचना पनि पार्कमा छ । २०४८ सालदेखि धादिङबेसीमा स्थानीय बासिन्दाहरु साँझ विहान बजारको भीडभाड छोडेर स्वच्छ र शान्त वातावरणमा बस्न त्यही पार्क पुग्ने गरेका थिए । सरकारी काममा आइपुगेकाहरुको सित्तल ताप्ने ठाउँ पनि त्यही पार्क थियो । तर अहिले रोपिएका बोटविरुवा त मासिएको छ नै भानुको पाउमै खानेपानी ट्याङ्कीको लागि ठूलो खाडल खनिएको छ । भानु प्रतिष्ठान धादिङका अध्यक्ष डा.नविनबन्दु पहाडी भन्छन्–‘ऐतिहासिक सम्पदा संरक्षणको अतिक्रमण भयो, सार्वजनिक सम्पत्ति र एतिहासिक सम्पदाको संरक्षण गर्नुपर्ने स्थानीय सरकार नै विनासकारी काम गर्दैछ ।’
जिल्ला प्रशासन कार्यालयसंगै रहेको पार्क सरकारी निकायमा सेवा लिन आउने सेवाग्राहीको लागि मनोरञ्जन र समय विताउने ठाउँको रुपमा सुविधा सम्पन्न पार्क निर्माण गर्न पहल भैरहेका बेला नीलकण्ठ नगरपालिकाले पार्क नै मासेर ट्याँकी निर्माण गर्नु खेद जनक कार्य भएको नागरिक समाजका प्रतिनिधिहरुले बताएका छन् । २०४८ सालदेखि भानुपार्कको रुपमा प्रयोग हुँदै आएको सभ्यता नास गर्नु गलत कार्य भएकोले तत्काल काम रोक्न जिल्ला प्रशासन कार्यालयसँग नागरिक समाजका अगुवाहरुले माग गरेका छन् ।

पार्क मिचेर पानी ट्याँकी निर्माण गरेको विषयमा नगर प्रमुख भिमप्रसाद ढुंगानाको ध्यानाकर्षण गराए पनि काम नरोकिएको धादिङ साहित्य समाजका अध्यक्ष डा.मुरारी अधिकारीले बताए । साहित्यीक जमघट, मनोरञ्जन र थकाइ मेटाउने चौतारीको रुपमा प्रयोग हुँदै आएको पार्कलाई अझ विकसित गर्नुको सट्टा नाश गर्ने कार्य भएकोले कुनै पनि हालतमा पार्कभित्र ट्याङ्की निर्माण हुन नहुने साहित्य समाजका अध्यक्ष डा. अधिकारीले बताए ।
आइतबार विहान धादिङ साहित्य समाज, भानु प्रतिष्ठान धादिङ र नागरिक समाजका प्रतिनिधिहरुले भानुपार्कको अतिक्रमण गरेर भइरहेको संरचना निर्माण कार्य रोक्न जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी पनि दिएका छन् ।
भानुपार्क पार्क मात्रै नभएर सभ्यता पनि हो । सभ्यता नै नाश हुने कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले भने यस्ता ऐतिहासिक सभ्यता जोडिएको स्थलमा अतिक्रमण गर्न नहुने भन्दै काम रोक्न माग गरिरहेका छन् ।
‘नागरिकका लागि पिउने पानी त आवश्यक हो, तर त्यसका लागि अन्यत्र स्थान हुँदाहुँदै पनि पार्क नै छनोट गर्नु सभ्यता विपरितको कार्य भएको छ’, डा. अधिकारी भन्छन्–‘पार्कभित्रको निर्माण कार्य तुरुन्त नरोकिए हामी थप आन्दोलनका कार्यक्रम ल्याउँछौं ।’

यता नगर प्रमुख भिमप्रसाद ढुंगानाले भने सहमती मै काम अघि बढाएको दाबी गर्दै आएका छन् । पानी ट्याङ्की भूमिगत हुने र जमीनमाथि दुइमिटर मात्र देखिने भएकोले त्यसमा विभिन्न चित्रहरु मार्फत आकर्ष बनाएर व्यवस्थित बताउने उनले प्रतिक्रिया दिएका छन् ।
