Thu. Mar 28th, 2024

होमस्टे बाट मनग्य आम्दानी

homestay

कावासोती – दुई वर्षअगाडि नवलपरासीको कावासोती–१५ अमलटारी बाघखोरमा स्थापना गरिएको थारू होमस्टेले रु एक करोड २७ लाख आम्दानी गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा रहेको सो होमस्टेले पर्यापर्यटन र संस्कृतिको संरक्षणमार्फत पर्यटकलाई आकर्षण गरी राम्रो आम्दानी लिन सकेको हो ।

नयाँ ठाउँ जान रुचाउने पर्यटकका लागि यो गन्तव्य बनेको छ । सुरुको वर्ष आठ हजार पर्यटक भित्रिएको यो ठाउँमा यस वर्ष १२ हजार पर्यटक आएका छन् । यसबाट स्थानीयवासीले २१ घरले प्रतिघर रु ६ लाख चार हजार ७६२ कमाएका छन् ।

थारू समुदायको संस्कृतिसँगै पर्या–पर्यटनमा रमाउन चाहने पर्यटकको आमगनले यहाँको पर्यटन व्यवसायले ह्वात्तै गति लिएको अमलटारी मध्यवर्ती थारू होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताए ।

अमलटारी आउनेहरुले यहाँ तीन दिन सजिलै बिताउन सक्नेछन् । विदेशी पर्यटकभन्दा पनि स्वदेशी पाहुनाले होमस्टे भरिभराउ हुन्छ । २१ घरका सबै सदस्यको सक्रिय सञ्चालनमा आएको यो होमस्टे अहिले नारायणघाटबाट पश्चिम हिँडेका र पश्चिमबाट पूर्व हिँडेकालाई गतिलो बस्ने र घुम्ने ठाउँ भएको छ । एकसिङ्गे गैँडादेखि जङ्गल सफारीले गर्दा जो कोहीको मन पनि यहाँ रमाउने गर्छ । त्यसमा थारू खाना परिकार सबैको रोजाइ बनेको छ ।

घुम्न आउनेको खर्चले गाउँमा राम्रो आम्दानी पनि भित्र्याएको छ । युवाले रोजगार पाएका छन् । गृहणीले पनि उत्तिकै कमाएका छन् । यहाँ पर्यटक आउनका लागि हिउँद वर्षा भन्ने नै छैन । सधैँ यहाँ भरिभराउ पाहुना हुन्छन् । हामीसँग ८४ श्यया छन् त्यो प्याक नै हुन्छ अमलटारी होमस्टेका कोषाध्यक्ष धनिराम महत्तोले भने –“ खाना बस्नका लागि पनि उत्तिकै सस्तो छ । दुईजना बस्न मिल्ने कोठा रु ५०० मा पाइन्छ ।”

आएको आम्दानी रकम सबै जनाले बराबर पाउँछन् । पर्यावरणको र संस्कृतिको संरक्षणबाटै लोभलाग्दो आम्दानी गरेका कावासोती बाघखोरमा थारू समुदायको काम अरू ठाउँका बासिन्दालाई समेत प्रेरणा हुन सक्ने नेपाल पर्यटन पत्रकार मञ्च नवलपरासीका सचिव बेचु गौँडले बताए । रासस

About The Author

Loading...

अन्य समाचारहरु: