
काठमाडौं– सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्तालगायत सरकारी कागजपत्र बनाउँन निर्देशन जारी गरेको छ ।
गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७ सय ४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएको हो ।
विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता मावलीकै थर राखी आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ । त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने भनिएको छ ।
‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने,’ विभागको निर्देशको दोस्रो बुँदामा भनिएको छ ।
बाबुको ठेगाना पत्ता लागे सोही ठेगाना राखेर नयाँ जन्म दर्ता गर्ने समेत उल्लेख छ ।