१८ साउन, धादिङ – राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला खेलकुद बिकास समिति धादिङको अध्यक्षमा विकास कार्कीलाई नियुक्त गरेको छ ।
परिषद्ले कोषाध्यक्षमा नवराज थापा, सदस्यहरुमा विमला तामाङ, संगीता अधिकारी, केशव अधिकारी र राजिव लामालाई नियुक्त गरेको हो । उपाध्यक्ष र अन्य सदस्यहरु भने नियुक्ती हुन बाँकी नै छ । समितिको कार्यकाल ४ वर्षको हुनेछ ।
नवनियुक्त पदाधिकारीहरुलाई सोमबार खेलकुद धादिङको कार्यलय नीलकण्ठ नगरपालिका ३ मा एक कार्यक्रमको आयोजना गरी पदस्थापन गरिएको छ । खेलकुद धादिङका सदस्य सचिव कृष्णलाल श्रेष्ठले पदस्थापन गराएका हुन् ।
अध्यक्ष पदको जिम्मा पाइसकेपछि नवनियुक्त अध्यक्ष कार्कीले धादिङको खेल विकासका लागि एक निर्वाचन क्षेत्र एक खेलकुद मैदान अनुसार काम गर्ने बताए । आफ्नो कार्यकालमा महत्वपूर्ण कार्यहरु गर्ने र खेलाडीहरुको सफलतामा सधैँ लागि पर्ने बताए । कुनै पनि भेदभाव बिना निस्पक्ष रुपमा अनुशासित खेलाडीहरु उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । खेलकुद क्षेत्रमा विगतमा भएका कमी कमजोरीलाई सच्च्याउदै जिल्लाको खेलकुदलाई विकास गर्दै लैजाने बताए ।
कार्यक्रममा नेकपा एमाले धादिङका जिल्ला कमिटि सदस्य एवम् अखिल नेपाल किसान महासंघको केन्द्रिय सदस्य कृष्ण अर्यालले नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।