
धादिङ– पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै सकिएको छैन ।
भासिएको ठाउँमा ग्याविन जाली भर्ने काम भैरहेको छ । प्रहरीका अनुसार भोली बिहान नभएसम्म बाटो खुलाउन सकिने अवस्था छैन ।
यातायात ठप्प हुँदा धार्के र धार्के आसपासका बजारमा यात्रु अलपत्रमा परेका छन् । काठमाडौं तर्फबाट बाहिरिएका अधिकांश यात्रुहरु काठमाडौं नै फर्किएका छन् ।

पुर्वपश्चिमबाट आएका केही यात्रुहरुले लोकल गाडीहरु प्रयोग गरेर गन्तव्यतर्फ हिडेका छन् । ग्रामीण सडकमा गुड्नसक्ने साना सवारीहरु वैकल्पिक बाटोबाट गन्तव्यतर्फ लागेका छन् भने अधिकांश यात्रु अलपत्र परेका छन् । काठमाडौबाट ट्याक्सीहरु आएर पनि यात्रु ओसार्न थालेका छन् । पुल वारीपारी परेका केही यात्रुवाहक सवारीले यात्रुलाई साटफेर गरेर पनि गन्तव्यतर्फ लगेका छन् ।
धादिङको धार्के बजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएको हो । पृथ्वीराजमार्ग हुँदै पुर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौं भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो । सोमबार दिउसो केही समय परेको पानीले पुलको मुनी लगाइएको वाल पहिरिएको छ ।
भासिएको स्थामा ग्यावीन जाली हालेर बाटो खुलाउने प्रयास जारी छ तर तत्काल बाटो खुल्ने सम्भावना भने छैन । प्रहरीले वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ । काठमाण्डौँ तर्फ जानेले ५ किला-फोगटपुर-बाइरोड सडक, जुङ्गेखोला-बाइरोड, सातकिला-बाइरोड, आठकिला-चिउरीपार्टि हुँदै धार्के र काठमाण्डौँबाट गल्छि तर्फ जानेले धार्केबाट केवलपुरको बाटो प्रयोग गर्न सकिने छ।