Fri. Mar 29th, 2024

ढुङ्गाखानी बन्द गर्न माग गर्दै थाक्रे गाउँपालिकामा ताला

धादिङ– धादिङको थाक्रे गाउँपालिकामा स्थानीयहरुले तालाबन्दी गरेका छन् । ढुङ्गाखानी बन्द गर्न माग गर्दै स्थानीयहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

‘थाक्रे गाउँपालिका–४ धैरेनीको परेवाभिर स्थित आग्रा खोला किनारमा रविना एग्रीगेट प्रालिले ढुङ्गा खानी उत्खनन् गरिहेको छ । त्यो चरण क्षेत्र हो । सडक कहिले यता र कहिले उता हुने गरी उत्खनन् गरिरहेका छन् । खानी विभागले तोकेको १८ वुदे सहमति पनि पालना गरेका छैनन् ।’ स्थानीय अशोक अधिकारीले भने ।

खानीहरु नियम विपरित सञ्चालनमा छन् । उनले भने,–‘खानीको जग्गा र सार्वजनिक छुट्याइ नियम अनुसार खानी सञ्चालन होस् भन्ने हाम्रो माग हो । खानीले स्थानीयको जनजीवनमा प्रत्यक्ष असर परेको छ । पालिकाले पनि कार्वाविधि नबनाई अनुमति दिएको छ । खानीको जग्गा एकातिर छ, चरण क्षेत्रमा उत्खनन् भइरहेको छ । गाउँपालिकाले हाम्रो मागलाई बेवास्ता गरेपछि पालिका तालाबन्दि गरेको हो,’ उनले बताए ।

यतिखेर आर्थिक वर्षको अन्त्यतिर छौं । तर पालिकामा तालाबन्दी हुदा सेवा प्रवाहमा समस्या परेको थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बरालले बताए । असार मसान्तको नजिक छौं । उनले भने,–‘विकासे काम र योजनाले गति लिने बेला हो । तर तालाबन्दिले सेवा प्रभावित बनेको छ । सेवाग्राही आउने फर्कने गरिरहेका छन्, ठूलो समस्या भएको छ ।’

पार्टीको संरक्षण र कार्यविधि विना नै खानी सञ्चालन गर्न दिएको नतिजा गाउँपालिकाको तालाबन्दि रहेको थाक्रे गाउँपालिकाका उपप्रमुख यन्त्रबहादुर थापा बताउँछन् । राजनितिक आस्था र निकटताको आधारमा अनुमति दिएको छ । उनले भने,–‘खानी विभागले तोकेको १८ वुदा मध्ये एउटै पनि पालना गरेका छैनन् । कार्यकर्ता भएकै कारण पुरा गर्नुपर्ने प्रक्रिया पुरा नहुदा पनि हतारले खानी सञ्चालन गर्न अनुमति दिएको देखिन्छ । चरण क्षेत्र एउटा कार्यकर्ताले नियम विपरित उत्खनन् गर्न पाउँछ ? अति भएपछि स्थानीयले पालिकामा तालाबन्दि गरेका हुन् ।’

अध्यक्ष र उपाध्यक्ष विचको टसल त होइन नि भन्ने प्रश्नमा उनले अध्यक्षसँग आफ्नो कुनै आग्रह पूर्वाग्रह नरहेको बताए । हामी जनताको काम गर्न आएका हौं । निति र मापदण्ड अनुसार चल्ने र चलाउनु पर्छ । उनले भने,–‘त्यो व्यक्तिको जमिन होइन, चरण क्षेत्र हो । राजनितिक आस्था र पार्टी निकट भयो भन्दैमा कानुन मिच्न मिल्दैन नि, सिस्टममा चल्नुपर्छ । जनताले विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा परिवर्तन चाहेका छन् । हामीले जनताको हित र न्याय हुने गरी काम गर्नपर्छ ।’

रविना एग्रीगेट प्रालि २०७६ सालमा दर्ता गर्ने बेला देखिकै विवाद रहेपनि व्यवसायी र स्थानीयको सहमतिमै खानी दर्ता गरिएको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताए । आन्तरिक आयको हिसाबले खानी क्षेत्रबाट १३ करोड ५५ लाख संकलन गरेको छ । उनले भने,–‘केन्द्रिय सरकारले असारसम्म खानी सञ्चालन गर्ने भनिएपछि खानी सञ्चालनमा आएको हो । उत्पादित वस्तुलाई हेरेर टेण्डर लगाएका छौं । खानीहरु बन्द गर्दा ठेक्काहरु रद्ध गर्नुपर्ने अवस्था पनि आउन सक्छ । आन्तरिक आय पनि घट्न सक्छ ।’

वैधानिक रुपमा चलेका खानीहरु छानविन गर्न गाउँपालिकामा समिति पनि बनेको छ । त्यहि अनुसार खानी सञ्चालनमा रहेको उनले बताए । म अमेरिका गएको बेला कार्यबाहक अध्यक्ष, उपाध्यक्षले रविना एग्रीगेट बन्द गर्ने आदेश दिनु भएछ । उच्च अदालतको रिट दायरपछि अदालतको आदेश पाएर उहाँहरुले खानी सञ्चालन गरेका हुन् । तर सर्वाेच्च अदालतको आदेश वदर गरी कार्यपालिकाले खानी बन्द गर्नु पर्ने उनीहरुको माग छ । अदालतको अन्तरिम आदेश बदर गर्न मिल्ने कि नमिल्ने जटिल प्रश्न खडा भएको छ ।’

स्थानीयले विभिन्न माग राख्दै गाउँपालिका तालाबन्दि गर्दा खानी सञ्चालकहरु भने निति नियममा रहेर खानी सञ्चालन गरिरहेको दावी गर्छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: