
धादिङ – बागमती प्रदेशभित्र पर्ने १३ जिल्लामा संक्रामक विषाणुजन्य रोग लम्पीस्किनको संक्रमण दिनानुदिन बढ्दो क्रममा देखिएको छ । तर, धादिङ जिल्लामा भने लम्पीस्किन संक्रमणको तथ्यांक छैन ।
धादिङको विवरण मन्त्रालयमा पनि छैन । जिल्लाको नीलकण्ठ, सिद्दलेक, ज्वालामुखीमा लम्पीस्किनको संक्रमण देखिएको छ । सिद्दलेक र नीलकण्ठमा केही पशु मरेको पनि छ तर भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङमा यकिन तथ्यांक छैन ।
रुवीभ्याली र गल्छी बाहेक सबै पालिकाबाट रिपोर्टिङ भएपनि बिहिवारबाट तथ्यांक संकलन सुरु गरिएको केन्द्र धादिङकी सुचाना अधिकारी पुण्यवती खकुरालले जानकारी दिइन् ।
पहिलो चरणको तथ्याङ्कबाट बागमती प्रदेशभित्र १८ हजार तीन सय २४ गाईमा संक्रमण भएको पाइएको छ। देशभर फैलिएको लम्पीस्किन रोग गाई र भैँसीमा देखापरेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको जनाइएको छ।
बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार प्रदेशमा सबैभन्दा बढी मकवानपुरमा देखिएको बताए। मकवानपुरमा चार हजार आठ सय ३५ वटा गाईमा उक्त रोग देखापरेको छ भने एक सय ९७ गाईको मृत्यु भएको डा पाण्डेले बताए।
सिन्धुली जिल्लामा नौ हजार छ सय ३४ संक्रमण र ४७ को मृत्यु, रामेछापमा एक हजार नौ सय ६५, चितवनमा एक हजार ६० वटा गाईमा उक्त रोगको संक्रमण भएको सचिव पाण्डेले बताए। उनका अनुसार प्रदेशको रसुवा र दोलखामा रोग पुष्टि नभएकाले संक्रमित सङ्ख्या शून्य रहेको छ । काठमाडौंमा ८३, ललितपुरमा ४०, काभ्रेमा चार सय, नुवाकोटमा तीन सय, सिन्धुपाल्चोकमा छ र भक्तपुरमा एक गाईमा लम्पीस्किन रोग देखापरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।