
धादिङ । धादिङका अधिकांश वन डढेलोले सखाप बनेको छ । अघिल्लो वर्षको तुलनामा डढेलोले झण्डै दुई गुणा बढी क्षति पुगेको छ ।
धादिङ जिल्लामा ७ सय ५० सामुदायिक र ४ सय ५० कबुलियती वन छ । प्राय सबै वनमा डढेलाले धेरथोर क्षति पुगेकै छ । डिभिजन वन कार्यालय धादिङका अनुसार जिल्लाको दक्षिणी क्षेत्रका वनमा अत्याधिक क्षति पुगेको छ ।
यो वर्ष वर्षात नभएका कारण पनि वनमा डढेलो बढी गएको वन अधिकृत अजय विक्रम मानन्धरले बताए । ‘अघिल्लो वर्षहरुमा जंगलमा लागेको आगो वर्षातले पनि निभाउथ्यो, यो वर्ष वर्षात नै कम भएकोले कुनै न कुनै कारण जंगलमा सल्किएको आगोले झन बढी फैलिइरह्यो’, वन अधिकृत मानन्धर भन्छन्–‘यो वर्ष पानी कम पर्नु, जमिन सुख्खा हुनु र मानवीय लापर्बाहि नै वनमा डढेलो फैलिनुको मुख्य कारण हो ।’
हुन त सचेत उपभोक्ता भएका वनमा डढेलोले त्यत्ति क्षति पुगेको छैन । डढेलो लागेको सुचना पाउनासाथ रातसाँझ गरेर पनि उनीहरुले डढेलो फैलिनबाट जोगाएका छन् । तर, दैनिक सयौं मानिसको आउजाउ भइरहने सडक र राजमार्ग छेछाउमै आगो दन्किरहँदा पनि निभाउनुपर्छ भन्ने सोच नराख्ने उपभोक्ता र सरोकारवाला निकायको व्यक्तिहरुकै कारण वन सखाप बनेको वन संरक्षणकर्ता भुमिरमण नेपाल बताउँछन् ।
नीलकण्ठ–१४ को घट्टेपाखा सामुदायिक वनमा यो वर्ष तीन पटक डढेलो सल्कियो त्यहाँका उपभोक्ताले तीनै पटक निभाए । सिस्नेपाखा, ओख्ले पाखा, आहालेछिरिङ्गे, राम्चेपाखा सामुदायिक वनमा पनि पटक पटक आगो सल्कियो रातसाँझ गरेर उपभोक्ताले नियन्त्रणमा लिए, फैलिन दिएनन् । तर, सिद्दलेकमा वडा कार्यालयकै पछाडी दिउँसै डढेलो लाग्यो निभाउने प्रयास समेत गरेको पाइएन । गजुरीको आदमघाटमा शसस्त्र प्रहरीको व्यारेक माथीको जंगलमा आगो लाग्यो कसैले निभाएनन् । वेनिघाट र गल्छीका वनमा पनि यस्ता थुप्रै दृष्य देखिए ।
अभियान्ता नेपाल भन्छन्–‘वन जोगाउने अभियानमा स्थानीय निकायको भूमिका कमजोर भएकोले पनि प्राकृतिक सम्पदाको संरक्षण हुन सकिरहेको छैन ।’ वन कार्यालय र स्थानीय सरकारले वन तथा सम्पदा संरक्षणको लागि नीतिहरु प्रसस्तै बनाएपनि कार्यान्वयनमा ल्याउन नसकेको उनको ठम्याई छ ।
डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण सम्बन्धि हरेक वर्ष विभिन्न कार्यक्रमहरु गर्छ । शसस्त्र प्रहरी, नेपाल आर्मी र सामुदायिक वनका उपभोक्ताहरुलाई डढेलो निभाउन जाँदा प्रयोग गर्ने सामाग्रीहरु समेत वितरण गर्छ । तर डढेलो गएको बेला उनीहरुको भूमिका शुन्य जस्तै नै देखिने गरेको छ ।