Fri. Dec 6th, 2024

दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत

काठमाडौ – घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुग्नुभएका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गर्नुभएको हो ।

भूतपूर्व गोर्खा सैनिक समेत रहनुभएका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । योसँगै उहाँले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाउनुभएको भन्दै हार्दिक बधाइ दिनुभयो । “हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ”, मन्त्री किरातीले भन्नुभयो, “उहाँले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।”

About The Author

अन्य समाचारहरु: