
काठमाडौ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चल्ने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिने बताउनुभएको छ ।
नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले सबै समस्या अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताउनुभयो ।
मन्त्री ज्वालाले भन्नुभयो, “नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगति के छ भनेर अध्ययन गर्नका लागि आएका छौँ, समस्या अप्ठ्यारा के छन् भनेर पनि बुझ्ने, नेपाललाई सडक पूर्वाधारका क्षेत्रमा पनि टनेल युगमा प्रवेश गराएका छौँ ।”
“एक वर्षभित्र गाडी चल्नसक्ने गरी कामलाई अझै तीव्र बनाउने काममा हामी लाग्नेछौँ ”उहाँले भन्नुभयो, “केही मुआब्जा वा आपूर्ति प्रक्रियामा समस्या होलान् आयोजना प्रमुखलगायतसँग छलफल गरेर जानकारी लिन्छौँ, छलफल गछौँ र छिटै समाधान गर्छौं ।”
उहाँले मुआब्जाको पनि छिटै समस्याको समाधान निकाल्ने र छिटोभन्दा छिटो आयोजना सम्पन्न गरेर सेवा दिन मन्त्रालय गम्भीर रहेको पनि बताउनुभयो । उक्त सुरुङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यु टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको सो क्रममा जानकारी गराइएको थियो ।