
धादिङ– होटलमा खाजा खान गएका धादिङको गल्छि गाउँपालिका वडा नम्बर ८ गल्छीका विनोद थापा मगरको हत्यामा संलग्नहरुलाई आजिवन जेल सजायको माग गरेका छन् ।
गल्छीकै शानदार होटलमा खाजा खान गएको बेला क्रुर हत्या भएको र हत्यारालाई आजिवन जेल सजायको माग राख्दै पीडितका परिवार र आफन्तले धादिङबेसीमा प्रदर्शन पनि गरेका छन् । हत्याराहरुको अवैध सम्पत्तिको छानविन गर्न समेत माग गरेका छन् ।
हत्यामा संलग्न भएको आरोपमा गल्छिकै शानदार होटलका सञ्चालक सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी–८ बस्दै आएका ३० वर्षिय किरण राना पक्राउ परेका छन् । उनीहरु तीनै जनामाथि अनुसन्धान जारी छ ।
नेपाल मगर संघको अगुवाइमा भएको प्रदर्शनपछि उनीहरुले धादिङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । अनुसन्धानको क्रममा पिडकहरुले प्रहरी प्रशासन र अदालत समेत आफ्नो पक्षमा पार्न सक्ने आशंका उब्जनी भएकोले दबाब स्वरुप प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाइएको गल्छि गाउँपालिकाका वडा अध्यक्ष विशाल लुङ्गेली मगरले बताए । ‘मान्छै मार्न पाइदैन, आजिवन कारावासको सजाय गर, कानूनी राज्यको प्रत्याभूति गर’ लगायतका प्लेकार्टसहित नाराजुलुस गरेका थिए ।
शरिरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी बैशाख २८ गते राति विभत्स हत्या भएको थियो । पिडितका आफन्तहरुले हत्यामा संलग्न भएको आरोपमा प्रहरी अनुसन्धानमा रहेका होटल संचालक पण्डित, उनका छोरा निरज माथि मानव बेचविखन तथा ओसारपसार र होटलमा देहव्यापार गरेको अभियोगमा मुद्धा दर्ता गराएका छन् ।
पीडितहरुको ज्ञापन पत्र बुझ्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले घटना भए लगत्तैदेखि आफुले नजिकबाट बुझिरहेको बताउदै घटनामा संलग्नहरुलाई नेपालको कानुन अनुसार कडा भन्दा कडा कार्वाही हुनेमा विश्वस्त रहन पीडितका परिवार र आफन्तहरुलाई आग्रह गरेका छन् ।