
धादिङ- धादिङमा लागुऔषध सेवन र कारोवारको घटना बढेको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्यांकले देखाएको छ । पछिल्लो तीन बर्षको तथ्याङ्क अनुसार जिल्लामा लागुऔषध सम्बन्धी अपराधका घटना दोब्बर भन्दा बढीले बढेको देखिन्छ ।
आईतबार जिल्ला युवा समिति धादिङको आयोजनामा जिल्ला प्रहरी कार्यालयमा आयोजित लागुपदार्थ दुव्र्यसन तथा साइबर क्राइम सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै प्रहरी उपरीक्षक गौतम मिश्रले आ.व. २०७७।७८ मा १५ वटा, आ.व. २०७८।७९ मा २९ र चालु आ.व. २०७९।८० को हालसम्म ३६ वटा लागुऔषध मुद्दा दर्ता भएको बताए ।
यो आ.व.मा दर्ता भएका मुद्दामध्ये ३५ वटा फर्छौट भईसकेको र १ मुद्दा बाँकी रहेको उनले जानकारी दिए । लागुऔषध सम्बन्धी प्रतिवादीको वयानअनुसार उनिहरुको आर्थिक स्थिती कमजोर भई आर्थिक आर्यआर्जन व्यापार गर्ने प्रयोजनले अपराध गरेको पाइएको मिश्रको भनाई छ ।
जिल्ला युवा समिति धादिङकी अध्यक्ष सुनिता सिंखडाले लागुपदार्थ दुव्र्यसन तथा साइबर क्राइममा फसेर व्यक्तिगतसँगै परिवार र समाजलाई नै समस्याग्रस्त बनाएकोले यसको न्युनिकरणको लागि सबैले आ आफ्नो भूमिका निभाउनुपर्नेमा जोड दिइन् ।