Fri. Jul 19th, 2024

सिरियाबाट यसरी बाँचेर फर्किए …

सुनिता मगर, धादिङ-

Sunita_287359542

टन्न पैसा कमाएर बालबच्चाको भविष्य उज्ज्वल बनाउने सपना बोकेर विदेश गएकी म यतिखेर सग्लो ज्यान मात्रै लिएर फर्केकी छु । बहिनीलाइ छोराछोरी जिम्मा लगाउने बेलामा छोरालाइ भनेकी थिए, ‘बाबु म धेरै पैसा कमाएर ल्याउँछु, । अनि तिमिलाइ राम्रा राम्रा खेलौना र लुगाकपडा पनि ल्याइदिउला । सधै स्कुल जाने गर है ।’ करिव डेढ बर्षपछि आज छोरासंग भेट हुँदा छोराले ममी कति पैसा ल्याउनुभयो अनि खै त मलाइ खेलौना भनेर सोध्ने सम्मको भएको त छैन तर म छोरालाइ देखेपछि त्यसै त्यसै पनि भक्कानिरहेको छु ।

यसरी पुगेँ सिरिया
छोरीले अव घर गरेर खान सक्ने भइ भनेर बुबाआमाले मैदी गाउँ विकास समितिको विकास मगर संग विहे गरिदिनुभयो । खेतीपाती गरेर बर्षभरि पनि खान नपुग्ने जमिन थियो हाम्रो । २ बच्चा जन्मेदेखि नै श्रीमानसंग र परिवारसंग राम्रो मेल नभएपछि म श्रीमानसंग छुटिएर बसे । बालबच्चाको पालनपोषण गर्न र काम खोज्दै २ वटा बच्चा लिएर पोखरा तिर लागे । पोखरामा दुध कम्पनीमा जागिर खान थाले त्यहाँ म बहिनीसंग बस्थे । दुध कम्पनीबाट दिएको तलवले खानबस्न पुगेकै थियो । अचानक १५ दिन विरामी परे, जागिरमा जान सकिन अनि निकालिदियो । दुध कम्पनीको जागिर छुटेपछि अरु ठाउँमा काम खोज्दै भौतारिए तर कहि कसैले जागिर दिएन ।

घरेलु कामदारको रुपमा महिलाहरु विदेश गएको सुनेकी थिए । मलाइ पनि विदेश जाने सोच आयो । यहीबीचमा पहिला संगै काम गरेको पोखराकै लक्ष्मी श्रेष्ठले तिमि विदेश जाउ त्यहा कमाइ राम्रै हुन्छ भनिन । म संग पैसा छैन कति खर्च लाग्ने हो भन्दा तिमी दुःख पाएको मान्छे विदेश जादाँ लाग्ने खर्च पछि कमाएर तिरेपनि हुन्छ । मैले मान्छे चिनेको छु म भनिदिउला भनिन । उनको कुरा ठिकै लाग्यो तर विदेश जानेजस्तो कुरा हत्तपत्त पत्याइहालिन । उनकै सल्लाह अनुसार विदेश लैजाने दलाललाइ एकपटक भेटेर कुरा गनै सोच आयो ।

काम नपाएर भौतारिरहेको बेलामा एकपटक दलाललाइ भेटौ न त भनेर काठमाण्डौ गए । पोखराकै राजु ढुङगााना भन्ने दलाललाइ काठमाण्डौको एक होटलमा भेट्दा त्यहाँ जस्तै अरु पनि विदेश जान लागेका रहेछन । लक्ष्मीले सुरुमा भन्दा विश्वास नलागे पनि त्यहा म जस्तै अरुपनि महिलाहरु भेटेपछि मलाइ अलिकति विश्वास लाग्यो । अनि दलालसंग कुराकानी भएर कुवेत जाने पक्का भएपछि म पासपोर्ट बनाउन धादिङ गएँ । धादिङवेशी गएर पासपोर्टको सिफारिस लिएर काठमाण्डौ गए । मेरो पासपोर्ट बनाउन कति खर्च लाग्यो के के गर्नुप¥यो मलाइ केही थाहा नभइ एकैपटक दलालले पासपोर्ट मेरो हातमा राखिदियो र भन्यो, ‘कुवेतमा घरमा काम गर्न जाने हो, महिनाको ४ सय डलर कमाउछौ ।’

यहाँ काम नपाएर भौतारिरहेको बेलामा खर्च पनि नलाग्ने अनि महिनाको ४ सय डलर भएपछि त राम्रै कमाइ हुने सोचेर म छोराछोरी बहिनीको जिम्मा लगाएर कुबेत जान राजी भएँ । तर समस्या नेपालबाट त्यतिबेला कुवेत जान नपाइने रहेछ । भारतमा भएर भिषा लगाउने र त्यहीबाट कुवेत जाने सल्लाह भएपछि म सहित चितवन, दमौली र पोखराकै तीन जना गरि ४ जना भारत जान काँकटभित्ताको बस चढ्यौँ । दलाल पनि संगै थियो तर बीचमा प्रहरीले कहाँ जान लागेको भनेर सोधीहालेमा आफन्त भेटघाटमा भन्नु भनेर सिकाएका थिए । भारत भन्यो भने समाउछ जस्तो लागेर त्यसो भनेको होला भन्ने सोचे, बाटोमा प्रहरीको चेकिङ पनि भएन सजिलै भारत पुगियो ।

भारतबाट कुवेतका लागि उडेको म एकैपटक दुवइ एयरपोर्ट पुगेपछि मात्रै थाहा भयो म सिरिया जाँदै छु । एउटा देश भनेर अर्को देश जाने कुरा थाहा पाउने वित्तिकै मनमा केही गडवढ छ कि भन्ने शंका त उब्जेको थियो तर अरु पनि संगै भएकाले कोही कसैलाइ केही भनिन । म कस्तो देशमा जाँदै छु भन्ने केही थाहा थिएन । सिरिया पुगेपछि एउटा घरमा अफिसमा राखियो । त्यहाँबाट कामदारहरु घरमा पठाइने रहेछ । मलाइ पनि एउटा घरमा घरेलु कामदारको रुपमा पठाइयो ।

sunita

सिरियाको कष्टपुर्ण ६ महिने बसाइ
कुवेत भनेर गएको मान्छे सिरिया पुगेपछि मन त डराएकै थियो । देशको अवस्था मलाइ केही थाहा थिएन । त्यहाँ पुगेपछि मात्रै सिरिया द्वन्दग्रस्त मुलुक रहेछ भन्ने थाहा भयो । दमास्कस शहरको एउटा घरमा काम सुरु गरे । सुरुमा काम गर्दा त सजिलै थियो । काम अलि बढी नै गर्नुपरे पनि साहुलाइ रिझाएरै काम गरिरहेँ । चार महिनासम्म काम गर्दा पनि तलव दिने सुरसार गरेन । आफुलाइ छट्पटी हुन थाल्यो । यता छोराछोरी बहिनीको जिम्मा छोडेर गएकी थिए । बहिनीले पनि विहे गरेर गएपछि आमाले ल्याउनुभएछ । घरमा पैसा पठाउन नपाउँदा छट्पटी भएपनि एकैचौटी ५/६ महिनाकै पठाउला नी भनेर घरमा फोन गर्दा पनि राम्रै कमाइ छ राम्रै काम छ भन्थे आमालाइ । जुनदिन मैले काम गरेको तलव आँफैले मागे त्यही दिनदेखि मेरो दुःखका दिन सुरु भए । पैसा मागेदेखि साहुले मलाइ फोन गर्न नदिने, काम बढी गर्न लगाउने, कुट्ने पिट्ने गर्न थाल्यो । अलिअलि सन्चो नभएर काम गर्न अल्छी गर्दा झन् बढी कुटाइ खान थाले ।

पैसाको कुरा गर्दा खान दिएकै छु लाउन दिएकै छु किन चाहियो पैसा भनेर सधै कुट्थ्यो साहुले । दुःखमा झन बढी छोराछोरीको याद आयो । आमालाइ सम्झिए तर फोन गर्न साहुले दिदैनथ्यो । बाहिर जोखिम पनि थियो । पैसा नदिएपछि काम गर्न जाँगर पनि चल्दैन थियो । म नेपाल नै फर्कने कुरा गरेपछि त साहुले त झन बन्धक नै बनाएर घर बाहिर निक्लन पनि नदिने र खान पनि समयमा नदिने गर्न थाल्यो । काम गरेपनि जस नपाउने अनि घरमा फोन पनि गर्न नदिनुको कारण मलाइ थाहा थिएन । अलिकति काम विगे्रपनि धेरै कुटाइ खान्थे । शरिरमा अहिले पनि निल डाम छ ।
मलाइ बाच्न लेखेको रहेछ एकदिन म्याग्दी तिरको एकजना नेपालीसंग घरमै भेट भयो उनले मोवाइल दिए अनि एकदिन साहुहरु सुतिसकेपछि घरमा आमालाइ फोन गरेर सवैकुरा बताएँ र छिटो नेपाल झिकाउन भने । १ महिनासम्म दिनहुँ जसो राती राती फोन गरे आमालाइ तर फोनमा आमाछोरी नै रुने भन्दा अरु केही काम भएन । ती दिन सम्झदा अहिले पनि आँशु आउँछ ।

एकदिन आमा मेरो समस्या लिएर सुरक्षित आप्रवासन परियोजनाले संचालन गरेको सुचना केन्द्रमा जानुभएछ र उद्धारको लागि निवेदन दिनुभएछ । निवेदन दिएपनि मेरो उद्धारमा ढिलो भएमा तिमिले छोरीलाइ जिउदो भेट्नेछैनौ भनेर आमालाइ भन्थे । त्यहीबाट पत्रकारहरुले समाचार पनि बनाउनु भएछ । समाचार पढेर धादिङ मैदीकै बालकृष्ण श्रेष्ठ मेरो जिवनमा भगवान बनेर आउनु भयो । घरबाट आमाले पनि फोन गर्नुहुन्थ्यो । साहुहरु सुतिसकेको बेला भन्दा बाहेक अरुबेला फोनमा कुरा हुदैनथ्यो । मैले फोन लिएको पनि साहुलाइ थाहा थिएन, थाहा भएको भए जे पनि हुन्थ्यो होला । एकदिन राती बालकृष्ण दाइसंग कुरा भयो । मैले समस्या बताए । छोराछोरीको मुख देख्न पाउदिन जस्तो लागेको थियो र नेपाल फर्कन चाहेको बताए । त्यसपछि बालकृष्ण दाइसंग मेरो साहुलाइ छलेर कुराकानी हुन थाल्यो । उनले उद्धार गर्ने बचन दिए । एकदिन मेरो साहुसंग कुरा गरेपछि मात्रै मैले कुटाइ खानु र बन्धक हुनपर्ने कारणबारे थाहा पाएँ । मैले काम गरे बापत पाउने तलवबाट ५ हजार डलर त पहिल्यै दलाल ले फुत्काइसकेको रहेछ । अहिले सम्म काम गरेबापतको तलव २ हजार डलर काटिएको र ३ हजार डलर बुझाएमात्रै पासपोर्ट फिर्ता दिएर घर जानदिने कुरा बालकृष्णदाइलाइ बताएपछि म छाँगाबाट खसेजस्तै भए ।

म दिनरात नभनी काम गर्ने अनि तलव अरुले नै लैजाने । मलाइ सुरुमा विदेश जान पैसा नलाग्ने भन्नु र पासपोर्ट पनि उसैको पैसा खर्च गरेर बनाइदिनुको कारण बल्ल जान्दै थिए म । त्यसपछि बालकृष्ण दाइ पैसा जुटाउन लाग्नुभयो । ३ हजार डलर तिर्न नसकेर म सिरिया अलपत्र परेको भन्ने समाचार अन्नपुर्ण पत्रिकामा फेरी प्रकाशित भएपछि हङकङ मगर संघकी अध्यक्ष चन्द्रज्योती मगरको पहलमा ३ हजार डलर साहुलाइ तिरिदिनुभयो अनि बालकृष्ण दाइले जहाज भाडा उपलब्ध गराइदिएपछि म नेपाल फर्कन सफल भए ।

भताभुङग सपना
टन्न पैसा कमाएर बालबच्चाको भविष्य उज्ज्वल बनाउने सपना बोकर विदेश गएकी म यतिखेर सग्लो ज्यान मात्रै लिएर फर्केकी छु । अव कसरी जिन्दगी चलाउने अन्योलमा नै छु । के गर्ने के नगर्ने केही सोच्न सकेको छैन । अहिलेपनि एक्लै हुदाँ झस्किन्छु, कतै म सिरिया मा नै त छैन भनेर । हातमा एक पैसा पनि छैन तर यी २ बच्चाहरुको माया र स्नेह छ । यिनीहरुको माया र ममताले मलाइ सकुशल नेपाल फर्काएको छ । अव नेपाल मै केही गरेर बच्चा पढाउँछु भन्ने आँट छ । त्यहाँबाट बाँचेर फर्कुलाजस्तो कत्तिपनि लागेको थिएन तर सहयोगीहरु भेटेपछि नयाँ जीवन पाएको आभाष भएको छ । मलाइ सकुशल फर्काउन सहयोग गर्ने सवै जनालाइ धेरै–धेरै धन्यावाद दिन चाहान्छु । विशेष गरि बालकृष्ण दाइ र चन्द्रज्योती दिदीलाइ । उहाँहरु नभएको भए मैले दुइ बच्चा र आमालाइ भेट्न पाउदिन थिए होला । म संग गएका ३ जना अरु नेपालीहरुको पनि कस्तो हालत होला । सिरियामा काम लगाइदिने अफिससम्म त हामी संगै थियौँ । अहिले कहाँ कुन अवस्थामा छन केही पत्तो छैन । काठमाण्डौ ओर्लने वित्तिकै प्रहरीमा दलाल विरुद्ध उजुरी दिएको छु । म त फसँे फसेँ अव अरु कोही यसरी नठगिउन भन्नलाइ पनि त्यो दलाल कारबाही होस भन्ने चाहान्छु ।

(१४ महिना सिरियामा कष्टपुर्ण जिवन विताएर विहीवार नेपाल फर्किएकी नीलकण्ठ ८ मुरली भन्ज्याङ धादिङकी सुनिता मगरसंग पाविल साप्ताहिकका सह सम्पादक मनिष दुवाडीले गरेको कुराकानीमा आधारित )

About The Author

Loading...

अन्य समाचारहरु: