Mon. Dec 4th, 2023

हिमाली जिल्ला मनाङमा मितेरी पर्व मनाइयो

मनाङ – हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ ।

यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाउने चलन छ । चार÷पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ । छेटु मेला सकिएपछि मितेरी लगाउने चलन छ । गुफामा पुगेर आमा समूहको सक्रियतामा कार्यक्रम आयोजना गरिन्छ । मरेपछि पनि छिटो भेटिने विश्वासका साथ मितेरी तथा गुफामा पूजाआजा गर्ने चलन रहेको स्थानीय माया गुरुङले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित मिलेरेपा गुफामा लामाले ग्रन्थ पढेर पूजापाठ गरी मितेरी लगाउने गरिएको स्थानीय कर्मा छिरिङ गुरुङले जानकारी दिए । उनका अनुसार तत्कालीन सात गाउँ वा मनाङ ङिस्याङ गाउँपालिकाको सबै वडाका स्थानीयको सहभागितामा पर्व मनाइँदै आएको छ । छेटुमा मेला हेर्न र मितेरी गाँस्नका लागि जिल्लावासीको उल्लेख्य सहभागिता रहने गरेको छ ।

नाचगानसहित यो पर्व मनाउने चलन रहेको छ । गुफामा नाचगानसहित लामाले ग्रन्थ वाचन गरी लुगाकपडालाई पुजेर सकाएपछि मितेरी लगाउने कार्य प्रारम्भ हुने गुरुङले बताए। उनले भने “लामाले पुजा सकाएपछि पुज्न राखेको दुई जनाको कपडा उचाल्दा जसको कपडा भागमा पर्छ, उसैसँग छेटु वा मितेरी लगाउने गरिन्छ ।” भगवानलाई पुजेर नै मितेरी गाँसेर एकापसको सम्बन्ध जोडिन्छ । यसरी मितेरी साइनो गाँसिदा सम्बन्धमा प्रगाढता कायम रहने उनीहरुको विश्वास छ ।

About The Author

Loading...

अन्य समाचारहरु: