Sun. Jul 21st, 2024

रुपान्तरणको भूमिकामा युवा

रमेश अधिकारी
नेपालमा जनसंख्याको ४० प्रतिशत भन्दा बढी संख्या १६ देखि ४० वर्षका युवाहरुको छ । यो उत्पादनशील उमेरको महत्वपूर्ण संख्या हो । देशको वर्तमान र भविष्य यही युवाहरुको काँधमा छ, तर चुनौति के छ भने यो उमेर समूह निकै गतिमान् हुन्छ, हाम्रो देशले स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभूति दिन सकेको छैन, यसर्थ दैनिक देश छोडीरहेका युवाहरुको संख्या हेर्दा निकट समयमै हामी श्रम शक्तिको अभावमा उत्पादनहीन हुनेछौं, देश एक प्रकारले युवाहीन वृध्दाश्रम जस्तो हुने खतरामा छ । घट्दो जनसंख्याको आकारले जनसंख्याविद्हरु चिन्तित छन्, विदेशिएका युवाहरु देश फर्किने मूढमा छैनन्, एक त अतिकम सन्तान जन्माउने प्रवृत्ति छ त्यसमा पनि उनका सन्तति उतै हुर्किन्छन्, उतै रमाउछन् ।  

केवल सत्ताको  लुछाचुँडीमा रुमलिएको छ राजनीति, उसलाई केवल वर्तमान भए पुग्छ, हाम्रो भविष्य भगवान् भरोषामा चलेको छ एकप्रकारले । सबैजसो पार्टी नेतृत्वमा उत्तरार्ध उमेरका मान्छे छन्, युवा पुस्ता भनिएकाहरुको सोचमा पनि उस्तै दरिद्रता छ । उमेरसंग गुनासो होइन, सोच युवाहोस् भन्ने अपेक्षा गरिएको हो । यस सन्दर्भमा नीलकण्ठ नगरपालिका धादिङका मेयर भीम प्रसाद ढुङ्खानाको एउटा भनाइ निकै स्मरण योग्य छ, ‘उमेर जे सुकै होस् यदि ऊ विगतका मात्र कुरा गर्छ भने बृद्ध हो र भविष्यको कुरा गर्छ भने युवा हो’ ।  हाम्रोमा समस्या यही भविश्यको सोच भएको युवा नेतृत्व नहुनु हो ।अब हाम्रो अति महत्वपूर्ण कार्यभार युवालाई शिक्षित गर्न, दीगो जीवन यापनको योजना बनाउन र मुलुकका लागि योगदान दिन युवाहरुलाई उत्प्रेरित गर्नु हो । मुलुक जोगाउने एकमात्र उपाय युवाहरुलाई जोगाउने हो भनेर सबैले बुझ्नु जरुरी छ ।

युवाहरुलाई स्वप्नदर्शी बनाउँ । सान्दार जिन्दगी यहीं बसेर ज्यूँन सकिन्छ भन्ने विश्वास जगाउँ । श्रम गन्तब्य खोज्न टाउको दुखाउनु भन्दा रोजगारीको अवसर खोजौं । गुणात्मक प्रतिस्पर्धी शिक्षा र सही सन्देश को अभावमा युवाहरु बहकिन सक्छन्, गलत सन्देश प्रवाह गर्न सक्छन्,हानीकारक अभ्यासमा सरिक हुन सक्छन्, फलतः पूर्ण मानव हुने क्षमतामा उनीहरु कमजोर बन्छन् । युवा हाम्रो भविष्य हो, जोगाउने उपाय खोजौं ।

युवा सशक्तिकरण आजको आवश्यकता हो, उनीहरुलाई आत्म नियन्त्रण गर्न सक्ने बनाउन, आत्म निर्भर बन्न सक्ने बनाउन, आत्म संयमित हुन सक्ने बनाउन युवा सशक्तिकरण । स्वप्नदर्शी बनाउन, संभावनाहरु खोज्न र छनौट गर्न सक्ने बनाउन, भूमिका अदाह गर्न सक्ने बनाउन, अपराधीकरणबाट जोगाउन युवा सशक्तिकरण ।

युवालाई जिम्मेवारी दिन हिच्किटाहट छ अझै । बूढो पुस्ता ओगटेर बसेको छ छोड्न चाहदैन, युवा आँट्न चाहदैन किन कि उसले यहीं गरेर खाने संभावना देखेकै छैन । निसासिएर बसेको छ, । उ विदेशिनु पर्ने बाध्यताको डिलमा छ । रहरमा  कोही मातृभूमि छोड्न चाहदैन, आमाको काख छोड्न चाहदैन, लालाबालाको साथ छोड्न चाहदैन, परिवारको साहारा छोड्न चाहदैन । रहर होइन बाध्यता हो यो । खै राज्यको अनुभूति ?

माया, प्रेम, स्नेह, ममता चन्द्रमा जस्तै हुन्छ, बढेन भने घट्न थाल्छ रे । परदेशिएकाहरुमा झन् यो कुरा लागू हुन्छ । टाढा हुन्छन् घरदेखि ।  विस्तारै माया, संझना घट्न थाल्छ । गाउँघर बिर्सिन्छ,चाडबाड बिर्सिन्छ, आफन्त बिर्सिन्छ, नाता सम्बन्ध बिर्सिन्छ, कूल कुटुम्ब बिर्सिन्छ । मेरा बा ÷आमा बिते रे, म आउन पाइन सद्गत गर्दिनु म लागेको पैसा पठाइदिन्छु भन्ने तहमा पुग्छ । सुन्न, पढ्न नमिठो लागे पनि अब हुने यही हो । युवाहरुको विदेशिने भोकलाई शान्त नपार्ने हो, उनीहरुको कमाउने र रमाउने महत्वकांक्षालाई सम्वोधन नगर्ने हो, देशको यो अधोगतिलाई नउकास्ने हो भने हामी अब यी विपत्तिहरु सहन तयार भएर बस्नु पर्छ । दोष ती युवाहरुको होइन, हामी अभिवावकहरुको अकर्मन्यताको हो । ढिला नगरौं, हाम्रा भागमा नुनिला आँसुका ढिक्का मात्रै पर्न पनि सक्छ ।  

About The Author

Loading...