Wed. Jul 24th, 2024

सधैं स्मरणयोग्य प्रकृति छोरीको त्यो सहयोग

अधिवक्ता– कृष्णराज अधिकारी
पछिल्लो समय मेरो जीवनचर्या र पेशा व्यवसाय संचालन गर्ने आफ्नै मौलिक पारा छ । घरको कामदेखि अफिससम्मको कामको छुट्टै कार्य योजना बनाएको हुनेछु । यहाँसम्म कि जागिरमा कहिले स्थायी हुने, कहिले डिग्री हासिल गर्ने, कहिले बढुवा हुने जस्ता जीवनका महत्वपूर्ण सवालहरु योजना अनुसार नै सफल हुँदै आएको छ । जागिर कहिले र किन छोड्ने अनि त्यसपछि के गर्ने जस्ता जीवनका महत्वपूर्ण सवालहरु मेरा योजना अनुसार नै थिए ।

योजना र लक्षबिहीन मानिस कहिल्यै सफलतापूर्वक गन्तव्यमा पुग्न सक्दैन भन्ने सुनेको थिए । त्यसैले त म हरेक दिन योजना बनाउने गर्दछु । मेरा डायरी हरेक दिनको आम्दानी खर्चको विवरणले भरीएको हुन्छ, जुन कुरा त्यति आवश्यक हैन होला ? बनाएका  सबै योजनाहरु सफलनै हुन्छन भन्ने पनि छैन । यो त एउटा जीवन जीउने मार्गदर्शन न हो । तरपनि आफ्ना योजनाहरुमा उलट पलट हुन लागेको अवस्थामा भने तरंग उत्पन्न हुन्छ नै  । एक किसिमको हारेको महसुस हुन्छ ।

तपाइ आफूलाइ कस्तो ठान्नु हुन्छ ? त्यो तपाइको कुरा हो । तर, म आफूलाइ अलि सरल र सोझो मान्छु । कसैले केही सोधी हाल्यो भने वास्तविक कुरा भन्न मन लाग्छ । राम्रोको लागि सुझाव दिन मन लाग्छ । तर, यस्तो बानी सधैंभरी राम्रो हुँदो रहेनछ । आफुलाइ राम्रै हो भन्ने लागेको कुरा अर्काकहाँ पुग्दा नराम्रो किसिमले प्रस्तुत हुन सक्दो रहेछ । भन्नेले एउटा कुरा बताएको छ सुन्नेले अर्कै बुझ्दो रहेछ । आफू ताक्छ मुढो बन्चरो ताक्छ घुडो । ए वावा मैले त्यसो भन्न खोजेको हैन भन्यो तर, सुनुवाइ कसले गर्ने ? महादेवको तीन नेत्र जस्तो रीसको ज्वाला ।

जतिनै नजिकको मानिस किन नहोस जसले सुख दुःखमा साथ दिदैन भने त्यसको के अर्थ हुन्छ र ? मलाइ यस पटक प्रकृती नानीले खुबै साथ दिइन् । मेरो स्वास्थ्य परीक्षणमा उनको ठूलो सहयोग रह्यो । टाढा भएपनि बेला बेलामा सन्चो बिसन्चोको फोन गर्ने, सल्लाह सुझाव दिइ रहने । त्यसैले मैले उनलाई जति नै धन्यवाद दिए पनि पुग्दैन । म उनको ऋणी भएको छु ।

प्रकृतीको कुरा गर्दा मलाइ केही भनु जस्तो लाग्यो । पेशाले चिकित्सक हाम्री प्रकृती म उनलाई छोरी भनेर सम्बोधन गर्न रुचाउंछु किन भने उनी मेरी छोरीकी मिल्ने साथी या रुम पाटनर । धेरै पटक मेरो घरमा आइ पारीवारीक वातावरण सिर्जना गरेकी छिन् । प्रकृती, प्रभात र अमृता यी तीनैजना एक आपसमा खुबै मिल्ने साथीहरु हुन् । यी तीन मध्ये प्रभात सरल स्वभावका दुःख आपतमा सहयोग गर्न पर्छ भन्ने भावनाका युवा जोश र जांगरले भरीका । अमृता पढाइमा अब्बल एक पटक पढे देखेको कुरा सधैं स्मरण भै रहने अद्भुत दैवीशक्ती । व्यवहारीकतामा भने अलि नखारिएको । प्रकृती चै बिजुली चम्के जस्तै जता पनि चम्कन सक्ने । देश काल परीस्थितिलाई राम्रैसंग बुझेकी । टाक्कटुक्क कुरा मिलाइ हाल्ने नाता सम्बन्ध जोडेर आफ्नो बनाउन भ्याइहाल्ने ।

केही समय अगाडीको कुरा हो । प्रकृतीको छात्रवृतीमा पढ्नको लागि नाम निस्किएछ । त्यसमा केही विद्यार्थीहरुको संस्थागत निर्णयमा गल्ती भएको भन्दै धर्ना जुलश गरे । अदालत गए । तर हाम्री नानी बाठी ! अब मेरो नाम निस्कियो पढ्न जाने हो भनेर झिटी गुन्टा पोको पारी राजधानी पसिछिन् । भोलीपल्ट खै त प्रकृती भनेको त हिजो नै कोठा छोडी पढ्न गइन् भन्ने कुरा आयो । अहोः जाने बेलामा एक बचन म विदा हुन लागेकी भनेकी भए पनि हुन्थ्यो जस्तो लाग्यो । फेरी अर्को मन पढाइ हुने नहुने टुङ्गो छैन हत्त न पत्त किन गएकी होलिन् ? फेरी फर्केर आउन पर्ने हुन सक्छ जस्तो लाग्यो । नभन्दै गएको दुइ तीन दिनमै फर्किन परेछ । मनमनै हांसो पनि उठ्योे । अहिले मलाइ प्रकृती छोरीको अभाव खड्की रहेको छ । ओदानको पनि तीन खुट्टा मध्ये एउटाले मात्र टेक्न छोड्यो भने अडिन सक्दैन । त्यसैगरी यी तीनजना अति मिल्ने साथीहरु मध्ये एकको अनुपस्थितमा पक्कै खल्लो भएको हुनुपर्छ । केही कुरा ठाकठुक भैहाल्यो भनेपनि उनले सहजै कुरा मिलाइ हाल्दथिन् । अहिले त्यो सहजकर्ताको भूमिका खेल्ने पात्रको अभाव छ । कहिले काही छोरीले भनेको कुरा सम्झन्छु ‘मेरो ठेगान छैन विदेश तिर जान पनि सक्छु, त्यसैले तपाइको छोरी भनेको प्रकृती हो । उनी त नेपालमै बस्छिन् होली ?’  अहिले सम्झन्छु ठीकै भनेकी हो की क्या हो जस्तो लाग्छ । जे होस् छोरीकी साथी छोरी नै त हो ।

एक आपसमा अति नै मिल्ने यी तीन पात्रहरु जसले चिकित्साशास्त्र अध्ययन गरी रहेका छन् । उनीहरुको भविश्य उज्ज्वल रहोस् । देश र समाजले कर्तव्यनिस्ठ, सेवानिस्ठ विशेषज्ञ पाउन सकोस्, तीनै जनाको उज्ज्वल भविश्यको कामना गर्दछु ।

About The Author

Loading...