Wed. Jul 24th, 2024

ट्याक्टरमा गिरिजाबावुको धादिङ भ्रमण

-चिजकुमार श्रेष्ठ
आम प्रजातन्त्रका पहरेदारहरूमा एक किसिमको जिज्ञासा, कौतूहलता, भविष्यप्रतिको अनेक प्रश्नका थाकहरू थिए, कौतुहलताका बाढीहरू थिए र उत्सुकताका आवेगहरू थिए कि अब पार्टीले के गर्छ ? नेताहरूले के गर्छन् ? र संगठनको अवस्था के कस्तो हुनेछ ? जनमतसङ्ग्रहमा प्रजातन्त्रको पराजयपछि संगठनलाई सुदृढ गर्दै जनजागरण अभियानलाई तीव्र नबनाए नेपालमा प्रजातान्त्रिक भविष्य लामो समयसम्म अँध्यारोमै निसासिनेछ जस्तो लागिरहन्थ्यो । जनमत सङ्ग्रहपछि पार्टीको भावी रणनीति, कार्यदिशा एवम् संगठनका वैचारिक आयमहरू विस्तारका लागि नेताहरूको भ्रमण हुँदै थियो ।

यसैक्रममा गिरिजाप्रसाद कोइराला धादिङ जिल्ला भ्रमण गर्न आउनुभयो । त्रिशूलीको बाटो हुँदै उत्तरतिरबाट पस्नुभयो । साथमा थिए कांग्रेस नेता स्व सुशील कोइराला, भरतप्रसाद उप्रेती, दामन पाखिन पनि । दामन पाखिन २०३६ सालको जनमतसङ्ग्रहपश्चात् आम माफीमा परी गिरिजाबाबुसँगै भारतबाट नेपाल फर्कनुभएको थियो ।

हामीहरू सदरमुकामबाट किन्ताङ फेदीमा गिरिजाबाबुलाई स्वागत गर्न र जिल्ला भ्रमणमा साथ दिन गएका थियौं ।

भेट भयो । बडो खुशी लाग्यो । सल्यानटार, चैनपुर हुँदै धादिङवेंशी पुग्ने हाम्रो योजना थियो । बाटोबाटोमा चौतारामा भेटघाट कार्यक्रम सञ्चालनका साथै कर्नर मिटिङ गर्दै आयौँ । कही कतै कुनै समस्या भएन ।

सल्यानटारमा तुलसी बस्यौलाकहाँ खानेबस्ने व्यवस्था गरेका थियौं । त्यही बास पनि बस्यौं ।

भोलिपल्ट चैनपुरमा बास बस्ने कार्यक्रम थियो । त्यहाँ चाहि वाम विचारका केही मानिसहरूले घेराऊ गरे । बिथोल्ने प्रयास गरे । हामी पनि धेरै साथीहरू भएका कारण खास केही गर्न सकेनन् ।

भोलिपल्ट धादिडशीतिर लाग्यौ ।

बाटोमा सानो खोला पर्छ । खोला तर्न जुत्ता नखोली जम्प गर्दा मेरो खुट्टा अलिकति मर्कियो । अलिअलि दुखेको जस्तो भयो । तर पछि साह दुख्यो । खपें । धादिङबेशी आइपुग्दा म खोच्याउने भइसकेको थिएँ ।

मेरो भाइ गंगाकुमार श्रेष्ठको घरमा गिरिजाबाबुलाई बस्ने व्यवस्था मिलाइयो । दिनभरि कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन भयो । प्रत्येकसँग एकएक गरेर जिल्लाको वस्तुस्थिति बुझ्ने काम गर्नुभयो गिरिजाबाबुले । त्यतिखेर जिल्ला नेतृत्वको बढी विरोध भएको थियो । यस्तै भेटघाट गर्ने क्रममा मेरो भिनाजु तत्कालीन जिल्ला पञ्चायत सभापति पुरूषोत्तमदास श्रेष्ठलाई पनि गिरिजाबाबुसँग भेट गराएको थिएँ प्रभाव परोस् भनेर । यसै भेटको कारणबाट उहाँले जिल्लासभामा उहाँका पञ्च साथीहरूसँग माफी माग्नु परेको थियो ।

भोलिपल्ट बेनीघाटमा भेटघाट कार्यक्रम थियो । सबै कार्यक्रम भ्याइयो । हामी मलेखुतर्फ लाग्यौ ।

मलेखु आउने जाने साधन भनेको ट्याक्टर मात्र थियो । सीतारामको रातो ट्याक्टरमा ड्राइभरसँगै चक्का कभरमाथि गिरिजाबाबु बस्नु भएको थियो । हामी टेलरमा बसी मलेखु आएका थियौं । गिरिजाबाबु त्यसबेला ट्याक्टरमा कच्ची बाटोमा हल्लिँदै उफ्रिदै बस्न सक्नु भयो । खप्न सक्नुभयो । अहिले सम्झँदा अचम्म लाग्छ | तब मैले बुझे, उहाँ कष्टहरूसँग पौठेजोरी खेल्न खप्पिस हुनुहुँदो रहेछ । अति लडाकू, अति मिहिनेती, अति कष्ट सहन सक्ने जुहास नेता गिरिजाबाबु । त्यतिखेर उहाँ करिब ५५ वर्षको हुनुहुन्थ्यो होला ।

बेनीघाट विशालटारमा मणिराज महर्कीकहाँ खाना खाई भेटघाट र निर्देशन दिई गिरिजाबाबु काठमाडौं लाग्नुभयो । हामीचाहिँ पार्टीको वैचारिक आदर्श र संगठनमा नयी ऊर्जा भर्न आफू अझै धारिलो भएको महसुस गर्दै धादिङवेंशी फर्कियौं । त्यसपछि बिस्तारैबिस्तारै संगठन सुधारतर्फ लाग्यौं ।
(श्रेष्ठद्वारा लिखित ‘यात्रा आफैँभित्र’ पुस्तकबाट साहभार)

About The Author

Loading...