
धादिङ– कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) क्लष्टर इकाई गोरखाले धादिङको वेनिघाट रोराङ गाउँपालिकामा संचालन गरेको गतिविधिहरुको सार्वजनिक सुनुवाई गरेको छ ।
कृषि, पशु र पोषणको क्षेत्रमा काम गर्दै आएको फानसेपले आर्थिक वर्ष २०७९÷८० मा बेनिघाटमा संचालन गरेको कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको हो ।
विश्व बैकसंगको साझेदारीमा संचालित ५ वर्से आयोजनामार्फत विभिन्न विषयमा पाठशालाहरु संचालन गर्दै आएको छ । कृषिबाट किसानहरुले मौसमी खेतीबाली लगाउने र बिषादी प्रयोगबारे सिकाउदै आएको छ भने परम्परागत खेती प्रणालीको केही विधि अबलम्बन गरि व्यावसायिक बन्नको लागि नयाँ कृषि प्रबिधिको प्रयोगमा सहयोग गर्दै आएको आयोजना प्रमुख केशव देवकोटाले बताए ।
पशुपालन पाठशालाबाट किसानहरुले पशु प्रजननमा हाडनाताबाट पर्ने असर, विभिन्न रोगहरुको बारेमा जानकारी र रोगी निरोगी पहिचान गरी रोग रोकथामको घरायसी तथा प्राबिधिक उपचार विधिबारे जानकारी गराउदै आएको उनले बताए ।
पशुपालन गर्दा सन्तुलित आहार बनाउनको लागि परालमा युरिया उपचार गरि पराल खुवाउने विधि र बहुपोषण युक्त खनिज ढिक्का बनाउदा युरियामल खुवाउने बिधि बारे सिकेका छन् । त्यस्तै पोषण सुरक्षा सुधारका लागि स्थानीय स्तरमा पाइने अन्नबाली र उत्पादनबाट विभिन्न परिकार बनाउने र खाने तरिकाहरुबारे सिकाउदै आएको छ ।