
Prison, Back, Buttocks, Human Back, Human Hand, Crime
काठमाण्डौ – वैदेशिक रोजगारीको लागि युरोपेली देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रोजगारीको लागि नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनाबाट ४४ लाख ५० हजार रुपैयाँ ठगी गर्ने महोत्तरीका ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको हो । उनले ६ जनाबाट पटकपटक गरी रकम मागेर सम्पर्क विहीन बनेका थिए । पीडितले वैदेशिक रोजगारीमा दिएको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गएको सोमबार बर्मालाई पक्राउ गरेको हो । उनले पीडितहरुलाई महिनाको दुई लाख रुपैयाँ कमाइ हुने जागिरको प्रलोभन दिएका थिए भने नेदरल्याण्ड जान १२ लाख रुपैयाँ लाग्ने बताएका थिए ।
यस्तै, युरोपेली देश पोल्याण्ड पठादिन्छु भन्दै ठगी गर्ने पाल्पाका पुरण अल्मालीलाई गएको मंगलबार प्रहरीले पक्राउ गरेको छ । अल्मालीले धनन्जय चौधरीलाई आकर्षक रोजगारीमा पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।