Tue. Dec 3rd, 2024

फर्किएको अस्तित्व

– मुक्तिकला लामिछाने
उफ् ! कस्तो निस्सासिएको,
उफ् ! कस्तो अध्यारो,
उफ् ! कस्तो अनकन्टार,
खे मेरो स्वरुप ?
कहाँ छ मेरो अस्तित्व ?
कहाँ छु म ?
यसरी नै अनेकै प्रश्नको तरङ्गमा
हराएको पनि आज दशकौँ दशक भएछ ।

मैले धेरै रोए,
मैले धेरे कराए अनि चिच्याए पनि,
तर, अपसोच मेरो चिच्च्याहट कसैले सुनेन
म आवाज विहीन भए,
विलयन भयो मेरो अस्तित्व धरतीमुनि,
मेरो स्वतन्त्रता खोसियो यही धरतीमुनि
म खुला ब्रह्माण्डमा विचरण गर्न चाहन्थे,
मेरो सुन्दर रुपको छटामा,
मन्त्रमुग्ध पारेर, प्रदीप्त मनसँगै
चाहन्थे सबैलाई हसाँउन,
तर बिडम्बना,
आउने पुस्ताले त यो मेरो
स्वरुप नै नदेख्ने भए,
म सधै गुमनाम हुने भए,
मेरो अस्मिता लुटियो,
म निरीह भए,
तिमीलाई तिम्रो भाागले पुगेन र अनि
लाग्यौ मलाई लुकाउन
म सहन बाध्य भए
यो कालकठोरीमा
सम्झिँदै मेरो विगत,
त्यो सुन्दर पलको स्मृतिघेरामा
आफूलाई बन्दी बनाई
एकालापीय शैलीमा म बाँच्न विवश भए ।

मैले धेरैको जीवन बचाँए,
मैले धेरै जमिन सिञ्चित गरे,
धेरै जीवन म मा अडिए,
म सबैको श्वास बने
तर, अपसोच
म तिमीहरूजस्तो निर्दही हुन सकिन,
जसले जीवन दियो उसैलाई मेटाउन सकिन ।

तिमी आज सर्वशक्तिमान भएका छौँ,
तिमीसँग मसँग भन्दा बढी शक्ति छ,
जसको आडमा तिमीले मलाई बन्धक बनायौँ,
म निस्कन खोजे,
तर तिमीले मेरा हातखुट्टा यसरी बाधिदियाँै कि,
मैले उम्किनै सकिन र
मेरो चित्कारलाई पनि दबाइ दियौ,
तिमी म प्रति कृतध्न भयौ ।

मैले धेरै सहे
झण्डै एकै शताब्दीजस्तो
म अस्तित्व विहीन भएर
अनवरत रुपमा आफ्नो यात्रा तय गर्दै
यो ओडारभित्र गुम्सिएरै भए पनि
बाँच्न सिके,
तर तिमीले त मेरो दुरावस्थालाई इंकार गर्दै
म माथि व्यापार गर्यौ,
मेरो स्वरुपलाई कुरुप बनायौ
कमाउनु कमायौ, जमाउनु जमायौ,
पद, पैसा र पावरको आडमा
तिमीले मलाई त विर्सेकै हौ,
तर अपसोच कस्तो हुस्सु तिमी
तिमीले त नाश्वर शरीरसँगै आफैलाई पो विर्सेर
आसमानको चराजस्तै भएको भ्रममा परेछौँ,
अब विस्तारै,
मेरो शहनशीलताको बाध फुट्नेछ,
देख्नेछौँ मेरो वितण्ड रुप,
मडारिने छ मेरो स्वरुप,
बडारिनेछौ त्यसमै तिमी ।

मैले त यो समय,
सहन गर्न सक्ने क्षमता बटुले,
आशै आशको भुमरीमा रुमलिएर पनि ,
चुली चड्ने निर्णय गरे,
जति विघ्नबाधा आए पनि,
हरेक अड्चनसँगै बाँच्न सिके,
तर अब तिम्रो ज्याजतिको पराकाष्ठा पुग्यो,
अब मेरा पीडा शमन हुँदैछ,
तर दुर्भाग्य तिनै पीडा म मा शमन हुँदा,
तिमीमा गमन हुनेछन् ।

म प्रफुल्लित छु,
आज एक शाहसी, निडर र कर्तव्यपरायण
छोरा जन्माएकी छु,
ऊ प्रदीप्त छ, उसको तेजको अगाडि,
अब तिम्रा पद, पौसा र पावर बेकाम हुनेछन्,
तिमी म भन्दा पनि निरीह हुनेछौ,
तिम्रो अन्त्यको घडी आउनेछ,
म शताब्दीऔँ देखि त्यसैको पर्खाइमा छु,
म बरबरिक र सञ्जयजस्तै बन्नेछु,
जसरी अधर्मको विरुद्ध भएका धर्म युद्धमा झै,
ऊ लड्ने छ,
जसरी सत्य, तेत्रा र द्वापर युगमा भएका थिए,
ति युद्धहरू
त्यसरी नै मेरो छोरो राम, कृष्ण र अर्जुन बनेर,
जित्नेछ तिमीलाई,
जसरी कृष्णले कंशको बन्धनबाट
देवकी र बासुदेवलाई मुक्ति दिलाएका थिए,
त्यसैगरी मलाई दिनेछ मुक्ति मेरै छोराले
अनि फेरी म पुनः मेरो पहिल्यौको स्वरुपमा पुग्नेछु,
र आफुलाई पाउँनेछु
उही हराभरा, उही निर्मलता, उही कञ्चनता र शुद्धता ।

म जन्मिदा कुरुप थिइन,
अहँ कत्ति पनि थिइन,
तर मेरो रुप र सौन्दर्यलाई
तिमीले नै कुरुप बनाएका थियौँ,
अब मेरो छोरा मेरो सुन्दरता लिएर आएको छ,
लोभिने छन् सबै,
मेरो अमर कौमार्य देखेर,
खेल्नेछन् खुलेर जलकेलि,
नाच्नेछन् चराचुरुङ्गी,
रम्नेछ यही प्रकृति पनि,
जो मेरो आधा हिस्सा हो ।

त्यसैले मेरो छोरा मेरो स्वतन्त्रता लिएर आएको छ,
मेरो खुसी, मेरो अस्तित्व बोकेर आएको छ,
खुला आकाशको ओतमा,
अनेकौँ सहयात्रीको भेटमा
अनि गन्तब्यको गेटमा,
मेरो निर्मल स्वरुप लिएर, गुमेको मेरो अस्तित्वलाई पुनःप्राप्त गरी
मेरो अनन्त यात्रामा लाग्दै गर्दा
म तिमीलाई मेरा सुवचनले आर्शिवाद दिनेछु,
फेरी पनि यो कलिमा
धर्मरक्षार्थ युद्धमा नारायणको राम, कृष्ण जस्तै
अर्को रुप बालेन भएर जन्मनु,
गंगापुत्र, कुमार र देवव्रत जस्तै
कलि गंगापुत्र बालेन भएर जन्मिनु
चित्कारमा उदयी कलि गंगापुत्र बालेन भएर जन्मिनु ।।

(लेखक, आदर्श बह्मुखी क्याम्पस गजुरीमा अध्यापन गराउनुहुन्छ ।)

About The Author

अन्य समाचारहरु: