Fri. Feb 14th, 2025

धादिङमा आँखा पाक्ने संक्रमणले बन्द हुँदै विद्यालयको पठनपाठन

धादिङ– आँखा पाक्ने संक्रमणले प्रकोपको रुप लिन थालेपछि धादिङका विद्यालयहरुले पठनपाठन बन्द गर्न थालेका छन् । साना विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण दिनानुदिन बढेपछि निजी तथा सामुदायिक विद्यालयहरुले पठनपाठन बन्द गराउन थालेका हुन् ।

जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको किबो बोर्डिङ स्कुल, सुनगाभा बोर्डिङ स्कुल, बालमन्दिर माध्यामिक विद्यालय, चिल्ड्रेनपार्क माध्यामिक विद्यालयलगायतका विद्यालयले पठनपाठन बन्द गरेको छ । शिक्षक र विद्यार्थी दुबैलाई संक्रमण फैलिन थालेकोले पठन पाठन बन्द गरिएको हो ।

अहिले रोकिएको पढाईलाई नियमित विदाको दिनमा समेत पढाउने र अहिलेलाई संक्रमण बढ्न नदिने उद्देश्यले विद्यालय व्यवस्थापन समितिकै निर्णय अनुसार पठन पाठन बन्द गरिएको बाल मन्दिर माविका शिक्षक दिपक अधिकारीले जानकारी दिए । ‘आधाआधी विद्यार्थी र शिक्षकमा आँखा पाक्ने रोग देखियो, केही विद्यार्थी डेंगुको संक्रमणले विद्यालय आउनै सकेका छैनन्’ शिक्षक अधिकारीले भने– ‘कक्षाकोठामा आधा विद्यार्थी पनि उपस्थित हुन छोडेकोले पनि तत्कालका लागि विद्यालय बन्द गर्न बाध्य भयौं ।’

धादिङमा पछिल्लो दुई साता यता आँखा पाक्ने रोगको सङ्क्रमण प्रकोपकै रुपमा फैलिएको छ । सदरमुकाम धादिङबेसीमा रहेको जिल्ला सामुदायिक आँखा केन्द्रमा मात्रै दैनिक एक सयको हाराहारीमा आँखाका विरामी पुग्ने गरेका छन् । एक साताअघि अन्य समयमा भन्दा दोब्बरले बढेको बिरामी संख्या अहिले थामिनसक्नु बनेको केन्द्रका नेत्र अधिकृत डा रामसिंह तामाङले बताए ।

एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर निजी स्वास्थ्य संस्थामा पनि त्यतिकै मात्रामा बिरामी पुगिरहेका छन् । समुदायस्तरमा यसको सङ्क्रमण फैलिसकेको छ । बालबालिका र युवामा यो समस्या बढी देखिएको छ ।

आँखा पाक्ने रोग उपचारका लागि विभिन्न सरकारी, निजी अस्पताल तथा क्लिनिकमा बिरामीको चाप थेगिनसक्नुले बढेको छ । प्रदूषित हावा र मौसमका कारण फैलिने संक्रमण भएकोले आँखामा हाल्ने आई ड्रपको समेत अभाव देखिन थालेको छ ।

About The Author

अन्य समाचारहरु: