
काठमाडौं । सरकारले संशोधन गरेको भू–उपयोग नियमावलीले दुई आना दुई पैसासम्मका घडेरीका टुक्रा बनाउन पाइने व्यवस्था गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित नियमावलीका अनुसार आवासीय र व्यावसायिक जग्गालाई ८० वर्गमिटरसम्मको टुक्रामा कित्ताकाट गर्नसक्ने व्यवस्था छ । यो भनेको दुई आना दुई पैसा क्षेत्रफल हो ।
यसअघि २०७९ मा आएको भू–उपयोग नियमावलीमा १३० वर्गमिटर अर्थात् चार आना एक दामभन्दा भन्दा सानो टुक्रामा जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।
जग्गा विकास योजनासहित नक्सा स्वीकृत गराई जग्गा विकास कार्यक्रम सञ्चालन हुने क्षेत्रमा ८० वर्गमिटर क्षेत्रफलको जग्गा कित्ताकाट गर्नसक्ने गरी नियमावली संशोधन भएको हो ।
तर, जग्गा विकास कार्यक्रम सञ्चालन हुनेगरी ८० वर्गमिटरमा कित्ताकाट गर्दा स्थानीय तहले निर्धारण गरेको सडक तथा बाटोको मापदण्डको आधारमा स्थानीय तहको सिफारिसअनुसार जग्गाको कित्ताकाट हुनुपर्ने संशोधित नियमावलीमा उल्लेख छ ।
जग्गा विकास कार्यक्रमको स्वीकृतिबाहेकको कित्ताकाटमा १३० वर्गमिटरभन्दा कम नहुने गरी गर्नुपर्ने र ५०० वर्गमिटर भन्दा सानो कित्ता बनाउँदा चौडाइभन्दा लम्बाइ चार गुणा बढी बनाउनुपर्ने व्यवस्था पनि कार्यान्वयन हुनेछ ।
कृषि क्षेत्रका हकमा नियमावलीअनुरुप वर्गीकरण भई कृषि क्षेत्र नतोकिँदासम्म काठमाडौं उपत्यकामा ५०० वर्गमिटर ९करीब एक रोपनी० र भित्री मधेशमा ६७५ वर्गमिटर र अन्य क्षेत्रमा १ हजार वर्गमिटरसम्मको टुक्रामा कित्ताकाट गर्न सकिने भएको छ ।