Sat. Oct 12th, 2024

शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका दुई एसएसपी केसी र कार्कीको सरुवा

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखको जिम्मेवारी खोसिएको छ ।

गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।

केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ भने कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा पठाइएको छ ।

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हटाउन सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब थियो । हाल जिम्मेवारीबाट हटाइएका एसएसपी केसी नेतृत्वको टोलीले कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको थियो ।

हालै उनले थप १८ जनाको जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गरेपछि देउवा सशंकित बनेका थिए । उनले काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी दानबहादुर कार्कीलाई भने यथावत राख्न चाहेका थिए । तर, सरकारले केसीको मात्र सरुवा गर्दा थप विवाद हुने भएपछि दुवै युनिटको प्रहरी प्रमुख परिवर्तन गरेको हो ।

About The Author

अन्य समाचारहरु: